आईपीएल टी ट्वान्टी क्रिकेट पर धकेलियो

काठमाण्डु टुडे २०७६ फागुन ३० गते १५:२६ मा प्रकाशित

एजेन्सी–इन्डियन प्रिमियर लिग(आईपीएल)को तेह्रौं संस्करण अप्रिल १५ सम्मका लागि सारिएको छ ।
मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको प्रिमियर लिगको तालिका कोरोना भाइरस संक्रमणको प्रकोपलाई लिएर पर धकेलिएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली, सचिब जय शाह र प्रिमियर लिगका उच्च अधिकारीहरुबीचको बैठकले प्रिमियर लिग सार्ने निर्णय गरेको हो । प्रिमियर लिग सञ्चालकले आठवटै फ्रेञ्चाइजरलाई उक्त जानकारीसहितको पत्राचार गरेको हो । प्रिमियर लिगको खेल सार्ने निर्णयबारे जानकारी गराउन फ्रेञ्चाइजसँग शनिबार मुम्बईमा छुट्टै बैठक पनि बोलाइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई बिहिबार विश्वब्यापी महामारी घोषणा गरेको थियो । भारत सरकारको विभिन्न निकायसँगको परामर्शपछि बीसीसीआईले प्रिमियर लिग सार्ने निर्णयमा पुगेको हो ।

भारत सरकारले अप्रिल १५ सम्मका लागि अन अराइभल भिषा जारी नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयले प्रिमियर लिगमा सहभागी हुने विदेशी खेलाडीको व्यवस्थापनमा समेत समस्या हुने देखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us