भिषामा रोकसँगै आईपीएल निर्धारित समयमै हुनेमा संशय

काठमाण्डु टुडे २०७६ फागुन २९ गते १७:०५ मा प्रकाशित

एजेन्सी–भारतले अप्रिल १५ सम्म भिषा जारी गर्न रोक लगाएपछि इन्डियन प्रिमियर लिगको १३ औं संस्करण निर्धारित समयमै हुने सम्भावना कम हुँदै गएको छ ।

भारतले बिहिबार मात्रै अप्रिल १५ सम्मका लागि भिषा जारी गर्न रोक लगाएको छ ।
भारत सरकारको यस्तो निर्णयले इन्डियन प्रिमियर लिग हुने सम्भावनामाथि धक्का लागेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका एक उच्च अधिकारीले पीटीआईसँगको कुराकानीमा उल्लेख गरे । यद्दपी बन्द रङ्गशालामा आईपीएल खेलाउनुपर्ने सम्भावनालाई बल पुर्याएको छ ।

प्रिमियर लिगको उद्घाटन खेल मार्च २९ को दिन मुम्बईमा हुने निर्धारण गरिएको छ । तर भिषामा रोक लगाउने निर्णयले विदेशी खेलाडी नआउने परिस्थितिमा खेल नै नहुने सम्भावना बढेर गएको छ । आठवटा फ्रेञ्चाइज टोलीका करिब ६० जना विदेशी खेलाडी प्रिमियर लिग खेल्न भारत आउने निर्धारित थियो ।

प्रिमियर लिग पदाधिकारीको शनिबार बस्ने बैठकले प्रतियोगिताबारे ठोस निर्णय लिनेछ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । जोखिम बढिरहँदा भारत सरकारले कुटनीतिज्ञ र रोजगारीबाहेकका सबै भिषामा रोक लगाउने निर्णय गरेको छ ।
यसैबीच, भारतको महाराष्ट्र सरकारले मार्च २९ का लागि निर्धारित खेलको टिकट बेचबिखनमा रोक लगाएको छ ।

प्रिमियर लिगको उद्घाटन खेलमा चेन्नई र मुम्बईबीच मार्च २९ मा स्पर्धा हुनेछ । टिकट बेचबिखनमा रोक लागेपछि प्रिमियर लिग प्रतियोगिता जारी राख्ने निर्णय भएपनि उद्घाटन खेल बन्द रङ्गशालाभित्र दर्शकको अनुपस्थितिमा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us