अब उपभोक्ताहरु नठगिने : पेट्रोल पम्पको मेसिनले अफै प्रिन्ट गर्छ बिल

काठमाण्डु टुडे २०७६ भदौ १४ गते १३:१० मा प्रकाशित

काठमाण्डु ,१४ भदौ — पेट्रोलियम पदार्थ भर्न जाँदा अधिकाँश व्यक्तिको ध्यान फ्युल सेन्टरको स्वचालित मिटरमा जान्छ ।

यसको कारण हो, आफूले तिरेको रकम बराबरको पेट्रोलियम पदार्थको परिमाण प्राप्त हुन्छ कि हुँदैन भनेर ।तर, अब; काठमाण्डु उपत्यकामा पनि डिजल र पेट्रोल डिस्पेनसन मेसिनमा विद्युतीय उपकरण जडान हुन थालेको छ । यो मेसिनले उपभोक्ताले आफ्नो सवारीमा फ्युल राखेको फ्युलको परिमाण र रकमसहितको विद्युतीय बिल आफ्नै अगाडि तुरुन्तै प्रिन्ट गर्दछ ।

 

यसबाट आफूले भरेको इन्धनको परिमाण र रकम फरक नपर्ने, जति परिमाणको इन्धन भरेको हो, सोही परिमाणको बिल मेसिनले नै प्रिन्ट गर्दछ । साथै मेसिनले प्रिन्ट गरेको बिललाई घटबढ गर्न मिल्दैन । यसबाट उपभोक्ताहरु नठगिने र परिमाण अनुसारको इन्धन प्राप्त हुने छ ।यस्तो मेसिन काठमाण्डुमा पहिलोपटक भित्र्याएको श्रेय सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित हलचोक फ्युल सेन्टरलाई जान्छ ।

सो फ्युल सेन्टरले उपभोक्तालाई गुणस्तरीय र मिसावटरहित तथा ग्राहकले खरिद गरेअनुसारको परिमाणको पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us