न न्याय न आस : निर्मला हत्याको एक वर्ष

काठमाण्डु टुडे २०७६ साउन १० गते १०:५३ मा प्रकाशित

कञ्चनपुर,१०साउन -भीमदत्त नगरपालिका-२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट धेरै प्रयास भएको बताइए पनि उनले न्याय पाउन भने सकेकी छैनन् ।
वर्ष दिनसम्म न हत्यारा पत्ता लाग्यो न अब न्याय पाउने आस नै छ,’ पन्त परिवारको यो बिलौना निर्मलालाई गुमाउँदा जस्तो थियो अहिले पनि उस्तै छ । उनकी आमा दुर्गादेवी भन्छिन्, न न्याय पाइयो, न अब आस नै छ ।’
१० साउन २०७५ मा साथीको घर जान भन्दै घरबाट हिडेकी निर्मलाको ११ गते बिहान घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । यसबीचमा हत्यारा पत्ता लगाउन सरकारबाट भएका हालसम्मका सबै प्रयास खेर गएको छ । तर, पनि सरकारले ढिलोचाँडो हत्यारालाई कानुनी कठघरामा ल्याउने दाबी गर्न भने छाडेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us