
हेटौंडा , ३० असार-इन्द्रसरोर गाउँपालिकामा पहिरामा पुरिएर आमाछोरीको मृत्यु भएको छ । वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता पहिरोमा पुरिएका हुन् ।
उनीहरु आइतबार राति घरमा सुतिरहेकै अवस्थामा पहिरोमा पुरिएको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । घरसहित पुरिएका उनीहरुको शव प्रहरीले सोमबार बिहान निकालेको छ ।
पहिरोमा पुरिएकी ३८ वर्षीया बेली बलामीलाई भने उद्धार गरिएको छ । उनको उपचार भइरहेको उपरीक्षक सिंहले बताए। जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।