
काठमाण्डु, १७ असार– संसदीय दल बैठकमा नेकपाका सांसदहरु नेतृत्वसँग खनिएका छन् ।
सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको दलको बैठकमा धेरैजसो सांसदले सरकार र पार्टीले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै नेतृत्वलाई खबरदारी गरेका छन् । नेकपा सांसद झपटबहादुर रावलले सबैजसो सांसदले आफूलाई लागेका कुरा खुलेर राखेको बताए । ‘लुकाउने छिपाउने कुरा आएन, जे छ त्यो सत्य हो भनियो, नेता केन्द्रित नीति र व्यवहार देखिएकोमा विरोध भयो’, रावलले भने, ‘यस्ता छलफल पहिले नै किन भएनन् भनेर प्रश्न गरें, पार्टीलाई सही ढंगले लानलाई नै सुझाव आएको छ, नेतृत्वले सुन्नुपर्छ ।’
रावलले सरकारले जनताका पक्षमा काम नगरेको, पार्टी एकता टुंगिन नसकेको, नेताहरुले तल्लो तहसम्म अधिकार बाँडफाँड नगरेको, बजेट व्यवहारिक र जनमुखी नभएको लगायतका विषयमा सबैजसो सांसदले धारणा राखेको बताए । नेपाल समाचारपत्रबाट