बाबुराम भट्टराई हली बनेको तस्वीर सामाजिक सञ्जालमा भाइरल

काठमाण्डु टुडे २०७६ असार १५ गते १६:०० मा प्रकाशित

गोरखा, १५ असार– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई हली बनेका छन् ।


बाबुरामले राजनीतिबाट विरक्त लागेर पेशा नै हली बनाएका भने होइनन् । धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा बाबुराम आइतबार गृह जिल्ला गोरखामा किसानहरुसँगै रोपाईंमा रमाए । सरकारले हरेक वर्ष असार १५ लाई रोपाईं महोत्सव तथा धान दिवसका रुपमा मनाउँदै आएको छ ।

बाबुराम दुई छुट्टाछुट्टै रोपाईं कार्यक्रममा सरिक भए । पालुङटार नगरपालिका–१ ले आयोजना गरेको र सफल मल्टिपर्पोज कृषि फार्मको रोपाईंमा बाबुरामले गोरु जोते र कोदाली चलाए । बाबुराम छत्रे टोपी, कट्टु र टि–सर्ट लगाएर किसानकै भेषमा खेतमा काम गरिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । बाबुराम आफैंले उक्त तस्वीर पोस्ट गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us