ग्रामीण भेगमा सडक बिस्तार सँगै पानिकाे मुहान सुक्ने क्रम बढ्दाे

काठमाण्डु टुडे २०७६ असार १५ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, असार १५ गते । पछिल्लो समय ग्रामीण भेगको गाउँगाउँमा सडक निर्माणकार्यले तीव्रता पाएको छ । तर, सडक निर्माणसँगै हिउँदको समयमा पानीको मुहान सुक्ने र वर्षायाममा सडकको लेदो मुहानमा मिसिँदा खानेपानीको अभाव सिर्जना भएको छ ।
सडक निर्माणको कामले तीव्रता पाएसँगै चितवनको इच्छाकामना-५ मुग्लिनबजारमा पानीको हाहाकार भएको हो । वर्षात्सँगै खानेपानीको अभाव हुने गरेको होटल सञ्चालक प्रकाश त्रिपाठीले बताए । पानीको मुहानलाई असर नपर्ने गरी विकल्प नखोजी सडक निर्माण गर्दा खानेपानी समस्या सिर्जना भएको उहाँको भनाइ छ ।
मुग्लिन होटल सङ्घका अध्यक्ष राम पाण्डे पनि मानवजीवनका लागि अत्यावश्यक खानेपानीको मुहानलाई असर नपुर्‍याउने गरी सडक निर्माण गर्नुपर्ने बताएका छन । उहाँका अनुसार मुग्लिन बजारमा १०० भन्दा बढी होटल तथा रेष्टुरेन्ट छन् । केन्द्रीय राजधानी काठमाडौँको मुख्य प्रवेशद्वार मुग्लिनमा खानेपानी अभाव हुँदा होटल सञ्चालनमै समस्या आएको उहाँले बताए ।
मुग्लिन खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शेरचनका अनुसार ३०० घरधुरी ग्राहक रहेका छन् । खानेपानी ट्याङ्की क्षमता कम भएका कारण पनि पर्याप्त पानी सञ्चय गर्न नसकिँदा वर्षायाममा अभाव सिर्जना भइरहेको उहाँले बताए । वडाध्यक्ष मोदराज सिलवाल भने सडक निर्माण आवश्यक रहेको र विकल्प नै नभएकाले यस्तो समस्या आएको बताउनुहुन्छ । अध्यक्ष सिलवालले पानी परेको समयमा मात्र अभाव हुने गरेको बताए ।
उहाँका अनुसार पानी पर्दा सडकको हिलो लेदोसहित मुहानमा मिसिने गर्दा समस्या भएको हो । उहाँले भन्नुभयो, ।।।पानी पर्दा ग्रामीण भेगमा निर्माण भएको सडकको लेदो मुहानमा मिसिने गरेको छ, लेदो मिसिएपछि शुद्धीकरणमा समस्या हुँदा अभाव सिर्जना भएको हो, सडक निर्माणको कामलाई रोक्न पनि नसकिने हुदाँ ती सडकमा पहिरो नरोकिएसम्म वर्षात्को समयमा यो समस्या सिर्जना भइरहनेछ। तत्कालका लागि समस्या टार्न विभिन्न विकल्पको खोजी भइरहेको उहाँले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us