
काठमाण्डु, १४ असार– वन तथा वातावरण मन्त्रालयको अगुवाइमा शनिबार वृक्षारोपण वर्षको विधिवत शुभारम्भ गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले राजधानीको कोटेश्वरमा आयोजित कार्यक्रमबीच वृक्षारोपण वर्षको शुभारम्भ गरे । प्रधानमन्त्रीले नासपातिको विरुवा रोपेर वृक्षारोपण वर्षको घोषणा गरे । पत्नि राधिका शाक्यले प्रधानमन्त्रीले रोपेको बिरुवामा जल सिञ्चन गरिन् । यस्तै शताब्दी पुरुष सत्यमोहन जोशी, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, कानूनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, खानेपानी मन्त्री विना मगर, राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहाल, सांसदहरु, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतले वृक्षरोपण गरे । वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ विभिन्न प्रजातिका करिब ३ हजार बिरुवा रोपिएका छन् । आगामी आर्थिक वर्ष २०७६÷०७७ लाई वृक्षारोपण वर्ष बनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण सुरु गरिएको हो ।
वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न नौ स्थानमा क्लस्टर निर्धारण गरेको थियो । जसमा कोटेश्वरदेखि बालुकुमारीसम्म, बालुकुमारीदेखि ग्वार्कोसम्म, ग्वार्कोदेखि बी एण्ड बी अस्पताल अगाडिसम्म, बी एण्ड बी अस्पतालदेखि सातदोबाटोसम्म, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म, महालक्ष्मीस्थानदेखि एकान्तकुनासम्म, एकान्तकुनादेखि बागडोलसम्म, बागडोलदेखि बल्खुसम्म र बल्खुदेखि कलंकीसम्म नौ वटा केन्द्र तोकिएका थिए । जसमा हालसम्म पत्ता लागेकोमध्ये संसारकै सबैभन्दा पूरानो प्रजाति मानिएको चिनियाँ गिन्कोसहित नासपाति, असारे फूल, तेजपत्ता, कल्की, राजवृक्ष, कपुर, पावलेजस्ता बिरुवा रोपिए ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल सरकारको निर्णयअनुसार वृक्षरोपण अभियान एक वर्षसम्म जारी रहने बताउनुभएको छ । मन्त्रालयले एक वर्षभित्र काष्ठ÷गैरकाष्ठ, फलफूल तथा जडिबुटीका गरी करिब पाँच करोड बिरुवा रोप्ने तयारी गरेको छ ।