
बुटवल, ९ असार– रुपन्देहीको गैंडहवामा दुई युवतीको १४ युवक मिलेर सामूहिक बलात्कार गरेका छन् ।
प्रहरीले बलात्कार आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री रोगजार कार्यक्रमका गैडहवा गाउँपालिका संयोजक जीवन ज्ञवाली पनि छन् । ज्ञवाली र विष्णु चौधरी पक्राउ परे भने अरु फरार छन् । गत असार २ गते साँझ दुई युवती स्थानीय विष्णु चौधरीसँग गैडहवा–९ नागेश्वरीको एक रेष्टुरेण्टमा खाजा खान गएका थिए । राति करिब १० बजेतिर घर फर्कने क्रममा चौधरीले दुईमध्ये एक युवतीलाई बलात्कार गरे । अर्की एक गुहार माग्दै भागिरहेका बेला युवाहरुको एक समूहको नजिक पुगिन् ।
उनले घटनाबारे बताएर सहायता मागिन् । त्यो समूहले युवतीको उद्धार गर्नु त कता हो कता उल्टै सामूहिक बलात्कार गरे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले पीडित युवतीको जाहेरीका आधारमा ज्ञवाली र चौधरी पक्राउ परे पनि अन्यको पहिचान खुल्न नसकेको बताए । ज्ञवालीले आरोप अस्वीकार गरेका छन् । भागेका १२ युवाको भने खोजी भइरहेको भण्डारीले बताए ।