झोक्किएर वीर अस्पताल पुगेका बाबुरामले खोलिदिए रेशम चौधरीको नेल

काठमाण्डु टुडे २०७६ असार ७ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, ७ असार–समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वस्वसहित जन्मकैदको सजाय पाएका निलम्बित सांसद रेशम चौधरीप्रति सरकारले अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

ढाडको नशामा गम्भीर समस्या देखिएपछि चौधरीलाई बिहीबार नख्खु कारागारबाट वीर अस्पताल लगिएको थियो । अस्पतालको शय्यामा चौधरीलाई हातमा हथ्कडी र खुट्टामा नेल बाँधेर राखिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भट्टराईले चौधरीलाई भेटेको तस्वीरसहित सामाजिक सञ्जालमार्फत बिरामी अवस्थामा नेल लगाएर राखिएकामा आपत्ति जनाएका हुन् । ‘१४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो? ’ भट्टराईले प्रश्न गरेका छन् । भट्टराईले विगतमा निरंकुश राजतन्त्रले ‘आतंकवादी’ र ‘अराष्ट्रिय तत्व’ को आरोपमा यसरी नै गोलघरको यातना दिएका ‘महानुभाव’ हरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन् ।

टीकापुर हत्याका मुख्य आरोपी चौधरीलाई सर्वोच्चले सर्वश्वहरणसहित जन्मकैद फैसला सुनाएपछि थुनामा छन् । भट्टराईले सुरक्षाकर्मीलाई भनेर आफूले भेटुञ्जेल चौधरीको खुट्टाको नेल खोल्न लगाएका थिए । उनले त्यहाँ रहेका सुरक्षाकर्मीलाई अब त्यसरी नेल नलगाउन पनि भने । तर, उनी बाहिरिएलगत्तै प्रहरीले ‘माथिको आदेश’ भन्दै फेरि नेल लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us