विप्लवका जिल्ला इन्चार्जको हत्यामाथि छानबिन शुरु

काठमाण्डु टुडे २०७६ असार ६ गते १६:३५ मा प्रकाशित

कठमाण्डु, ६ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको विषयमा अनुसन्धान हुने भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले नेकपाका सर्लाही जिल्ला इन्चार्ज पौडेल मारिएको घटनाको विषयमा अनुसन्धान गर्ने भएको हो ।kumar_poudel

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै पौडेल मारिएको विषयमा सत्यतथ्य पत्ता लगाउन केन्द्रीय कार्यालय र प्रदेश नम्बर २ कार्यालय टोलीले अनुसन्धान गर्ने जनाएको छ । छानबिनका लागि केन्द्रीय कार्यालयबाट शुक्रबार बिहानै टोली घटनास्थलतर्फ गएको आयोगका प्रवक्ता देव भट्टराईले जानकारी दिए ।

‘सर्लाहीमा दोहोरो भिडन्तको क्रममा प्रहरीको गोलीबाट यही असार ५ गते नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति आयोगका गम्भीर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही खोला नजिकै जंगलमा दोहोरो भिडन्त हुँदा प्रहरीका गोली लागि पौडेलको मृत्यु भएको प्रहरीले दावी गरेको छ। तर नेकपा विप्लव समूहका प्रदेश नम्बर २ का प्रमुख अरुणले जारी गरेको विज्ञप्ति साथीहरुलाई कुरेर बसेका पौडेललाई प्रहरीले पक्राउ गरेपछि गोली हानी मारेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us