कमल थापाले भने – देश डरलाग्दो संकटको चक्रव्युहमा फस्यो

काठमाण्डु टुडे २०७६ असार ६ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, ६ असार – राप्रपा अध्यक्ष कमल थापाले १३ वर्षको अवधीमा देश डरलाग्दो संकटको चक्रव्युहमा फसेको बताएका छन् ।उनले २०६३/०६३ आन्दोलनपछिको १३ वर्षे अवधिमा शान्ति स्थायित्व र समृद्धिको साटो देश डरलाग्दो संकटको चक्रव्युहमा फसेको बताएका हुन् ।

आजबाट काठमाडौँमा सुरु भएको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा राष्ट्रिय सहमतिको आवरणमा काँग्रेस, एमाले र माओवादीका नेताहरुले आलोपालो सरकारको नेतृत्व गरेपनि शान्ति, स्थायित्व र सम्वृद्धि नआएको उल्लेख गरेका छन् ।

देशको वर्तमान परिस्थितिको गम्भीर समिक्षा र विश्लेषण गर्दै पार्टीको भावी रणनीति र कार्यदिशा निर्धारण गर्न बोलाइएको उक्त बैठकमा थापाले प्रस्तुत गरेको प्रतिवेदनमा यस बिचमा सनातन हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको, राजसंस्थालाई पाखा लगाईएको, जातीय विभाजनको संस्थागत बिजारोपण गरेको, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता कार्यान्वयन गरिएको तथा राष्ट्रहित विरुद्धको नागरिकता ऐन लागू गरि लाखौ विदेशीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको कुरा उल्लेख गरेका छन् ।

थापाले आफ्नो प्रतिवेदनमा विप्लव समुहको उदाहरण दिदै १३ बर्षपछि माओवादीको पुनरोत्थान भएको समेत बताए । नया संविधान जारी भइ दुई तिहाई बहुमतका साथ नेपाल कम्युनिष्ट पार्टीको सरकार गठन भएको बेलामा नया रुप र थप शक्ति संचयका साथ माओवादी विद्रोहको पुनरोत्थान हुन लागेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us