भारतीय लोकसभा चुनावः उत्तर प्रदेशमा पछि परेका राहुलले गरे वायनाडबाट चमत्कार !

काठमाण्डु टुडे २०७६ जेठ ९ गते ११:१६ मा प्रकाशित

नयाँदिल्ली, ९ जेठ – भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ ।

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८०भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन(यूपीए)१०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

वाराणसी क्षेत्रबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ४१ हजार भोटले अगाडि रहेका छन् । वाराणसीमा समाजवादी पार्टी तथा बहुजन समाज पार्टी गठबन्धनकी उम्मेदवार शालिनी यादव दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा कांग्रेसका अजय राय रहेका छन् ।

सुरुवाति मतगणनाअनुसार दिल्लीका सातै सिटमा बीजेपी अगाडि रहेको छ । पूर्वी दिल्लीमा बीजेपी उम्मेदवार पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर अगाडि रहेका छन् । उनलाई आम आदमी पार्टीकी उम्मेदवार आतिशीले पछ्याइरहेकी छिन् ।

सुरुवाति रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीको अघि पछि रहेका छन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५८ हजारभन्दा बढी मतले अग्रता बनाइरहेका छन् ।

त्यस्तै बिहारको बेगुसरायमा बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह ५० हजारभन्दा बढी मतले अगाडि रहेका छन् । बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैया कुमार गिरिराज सिंहसँग प्रतिस्पर्धामा रहेका छन् । साथै राष्ट्रिय जनता दलबाट तनवीर हसन पनि यसै सिटबाट प्रतिस्पर्धामा रहेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता कन्हैया कुमारको चुनावी प्रचारप्रसारमा जावेद अख्तर, प्रकाश राजलगायतका चर्चित हस्ती मैदानमा उत्रिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us