इटहरीका मेयरले सीसी क्यामेरा बन्द गरेर कर्मचारी कुटेपछि…

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १०:१८ मा प्रकाशित

सुनसरी, ९ जेठ – मेयर द्वारिकालाल चौधरीले कर्मचारी कुटेको भन्दै इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । मेयर चौधरीले बुधबार साँझ वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब–इन्जिनियर रामबहादुर खड्कालाई मेयर चौधरीले कुटपीट गरेपछि कर्मचारी आन्दोलित भएका हुन् ।

मेयर चौधरीले आफ्नै कार्यकक्षमा बोलाएर कर्मचारीमाथि हातपात गरेका थिए । कर्मचारीले सीसी क्यामेरा बन्द गरेर आफुहरुमाथि कुटपिट गरेको आरोप लगाएका छन् । अवाञ्छित, अलोकतान्त्रिक र अपराधिक हर्कत भएको भन्दै कर्मचारीहरुले प्रेस विज्ञप्ति निकालेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

बुधबार साँझ ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद, कर्मचारी कुट्न पाईँदैन, अपराधी मेयर चाहिँदैन’ भन्दै कर्मचारीले आन्दोलन गरेका थिए ।

इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा कर्मचारीहरुले उपमहानगरका सबै २० वडामा समिति र नगरपालीकाको कार्यालयमा तालाबन्दी गर्ने र उपमहानगरको प्रांङ्गणमा भेला हुने कार्यक्रम सार्वजनिक गरेका छन् ।

यता मेयर चौधरीले भने ती कर्मचारीले सेवाग्राहीबाट घुस लिएको बताएका छन् । खड्काले घुस रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि तत्काल कार्यकक्षबाट निकालिएको प्रमुख चौधरीले बताए । आफू निर्वाचित हुँदाताकै भ्रष्टाचारविरुद्ध अभियानमा लागिरहेको बताउँदै उनले भ्रष्ट कर्मचारीलाई कुनै छुट नहुने प्रष्टीकरण दिए ।

उपमहानगरमा सुशासन कायम गर्न लागिरहेको अवस्थामा सेवाग्राहीबाट घुस रकम लिएको पाइएपछि सब–ओभरसियर खड्कालाई निष्काशन गर्नुपरेको चौधरीको भनाइ छ ।

प्रमुख चौधरीले भने आफुले कर्मचारीहरुलाई कुटपिट नगरेको दाबी गरेको छन् । तर, घुस खाएको पाएपछि खड्कालाई कार्यालय नआउनु भनेको उनले स्वीकार गरे । उनले नगरपालिकाभित्र भएको भ्रष्टाचारविरुद्धको अभियानमा लाग्दा कर्मचारी आन्दोलित हुनु दुःखत भएको टिप्पणी गरे ।

कर्मचारीले घुस खाए कानुनी कार्वाही गर्नुको साटो कर्मचारीलाई अपमान गर्ने काम उपमहानगर प्रमुख चौधरीले गरेको कर्मचारीहरुको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us