
रुपन्देही, ८ जेठ – प्रहरीले साथीको हत्या आरोपमा रुपन्देहीमा ४ जनालाई पक्राउ गरेको छ । कपिलबस्तु बाडगंगा नगरपालिका– ६ बस्ने २७ वर्षीय चिरञ्जिवि आचार्यको हत्या गरी जंगलमा फालेको अभियोगमा प्रहरीले सोहि ठाउँकै २० वर्षीय राजु विक, ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल र २४ वर्षीय बसन्त खत्रीलाई पक्राउ गरेको हो ।
आचार्यको शव रुपन्देहीको सैनामैना नगरपालिका–१० सितलपुर जंगलमा जेठ ६ गते फेला परेको थियो । प्रहरीका अनुसार जेठ ४ गते कपिलबस्तुको लक्ष्मण घाटस्थित एक रेष्टुरेण्टमा पाँचैजना मदिरा सेवन गरी बसेका थिए ।
मदिरा पिएको अवस्थामा चिरञ्जिवि आचार्यको मोबाइल हराउँदा झगडा भएको थियो। झगडापछि उनीहरुले चिरञ्जिविको हत्याको योजना बनाएका थिए । राजु विक र रमेश विकले चिरञ्जिवि आचार्यलाई मोटरसाइकलमा लगेर रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डी नजिकको सितलापुर जंगलमा लगि ढुंगाले हानेर हत्या गरी छोडेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।
हत्यापछि मृतकसँग रहेको १३ हजार रुपैयाँ लिइ दुबैजनाले मोटरसाइकल कपिलबस्तुको खायरखानी जंगलमा छोडेका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।