
काठमाण्डु, ३० वैशाख – एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ ।कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनले लिएको अन्तर्वार्तामा आइतबार प्रसारण भएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्किएका थिए ।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनले दाबी गरेको छ ।
मुखमा पट्टि बाँधेर हातमा लठ्ठी बोकेर आएका आक्रमणकारीले एउटा क्यामेरा पनि तोडफोड गरेका छन् । सोही क्यामेराले उनीहरूका गतिविधि खिचिरहेको थियो । क्यामेरा फुटाए पनि त्यसमा रहेको मेमोरी कार्ड सुरक्षित रहेको छ ।