काठमाण्डुको विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

काठमाण्डु टुडे २०७६ वैशाख ३० गते ११:०४ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख – काठमाण्डु उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गरेका छन् ।

काठमाण्डु महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाण्डु उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले प्रत्येक नगर एकापसमा छिमेकी रहेकाले एउटाको मात्रै विकास भएमा त्यसले कुनै अर्थ नराख्ने हुँदा एकापसमा छलफल गरी आवश्यकताको आधारमा विकासको काम अघि बढाउनुपर्ने बताए।

विभिन्न नगरबाट कार्यक्रममा सहभागी हुन आएका नगर प्रमुखले आधारभूत र माध्यमिक तहको शिक्षा पाठ्यक्रममा नै सडक सुरक्षासम्बन्धी विषय समावेश गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी सडकमा साइकल लेन र सार्वजनिक यातायातका साधनलाई प्राथामिकतासँगै फुटपाथ अतिक्रमणलाई कम गर्न सके पनि सडक दुर्घटना कम हुने विषयलाई उठान गरिएको थियो ।

कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले ठूला सवारी साधन प्रयोगमा जोड दिनुका साथै घरको नक्सा पास गर्दा यातायातको साधन पार्क गर्ने स्थान छ कि छैन भन्ने विषयमा नक्सा पास गर्ने निकायले ध्यान दिनुपर्ने सुझाव दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us