कर्मचारी सरुवाबारे अमेरशकुमार र लालबाबुबीच ‘जुहारी’

काठमाण्डु टुडे २०७६ वैशाख २६ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, २६ वैशाख – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपार्टीको तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

सांसद सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उल्लंघन गरेको ? भन्दैसरकारलाई प्रश्न गरे ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने पनि स्पष्ट पारे ।

सांसद सिंहले समितिमा छलफल भईरहेको सो विधेयक कर्मचारीहरुले आफूखुसी तयार पारेको देखिएको उल्लेख गर्दै आपत्ति जनाए ।

यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानुनसम्मत ढंगले कर्मचारी सरुवा हुने गरेको जवाफ दिए । उनले कानुन र नियमावलीमा स्पष्ट नभएको कुरालाई भने सरकारले आवश्यक नीतिगत निर्णय लिएर अघि बढाउने पनि स्पष्ट पारे ।

मन्त्री पण्डितले कर्मचारीको सेवा र सर्तसम्बन्धि कानुनी व्यवस्थालाई अझै स्पष्ट बनाउन सरकारले सो विधेयक ल्याएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us