काठमाण्डु, २५ वैशाख – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पोलिटब्यूरो सदस्य पादमबहादुर राईलाई निलम्वन गरेको छ । तत्कालीन माओवादीमा विकास उपनामले परिचित पूर्वआवास तथा भौतिक योजना राज्यमन्त्री राईलाई पार्टीको नीतिविपरित बोलेको भन्दै निलम्वन गरिएको हो । केही दिनअघि सरकारसँग वार्ता प्रक्रिया अघि बढिरहेको अभिव्यक्ति दिएपछि राईलाई निलम्वन गरिएको हो ।
उनको यो अभिव्यक्तिपछि राईलाई भूगोलका सबै जिम्मेवारीबाट हटाएर राखिएको हो । शान्तिप्रक्रियापछि राई पहिलो संविधानसभामा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । नेता राई यसअघि माओवादीनिकट किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् ।
माओवादीबाट बाहिरिने क्रममा राईको नेतृत्वमा भोजपुर, खोटाङ र संखुवासभाबाट ठुलो समूह उनीसँगै विप्लवतर्फ लागेको थियो ।
गत वर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा भोजपुरबाट चुनाव लडेका शेरधन राईमाथि बम हमला गरेको आरोप उनीमाथि लागेको थियो ।