
काठमाण्डु, २४ वैशाख – सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता र प्रतिपक्ष दुबैलाई धन्यवाद दिएका छन् ।
सत्ता पक्षले यसअघिको नीति तथा कार्यक्रमभन्दा गुणात्मक नीति तथा कार्यक्रम ल्याएको भन्दै प्रचण्डले धन्यवाद दिए । त्यसैगरी प्रचण्डले प्रतिपक्षले गुणात्मक रुपमा प्रतिवाद गरेको भन्दै प्रतिपक्षलाई पनि धन्यवाद दिए ।
यसअघिको बजेट निर्माण प्रक्रियामा सरकारको तयारी र प्रतिक्षक्षको प्रतिवाद गर्ने धेरै राम्रो नभएको बताउँदै प्रचण्डले भने, ‘यस वर्ष भयो । यस वर्ष सरकार र प्रतिपक्षले व्यवस्थित गरेर प्रस्तुत गरेको छ । जनताको चाहनालाई समेट्ने अधिकतम् प्रयास भएको छ । म यसका लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहान्छु ।’
‘प्रतिपक्षले पनि गत वर्षको तुलनामा यस वर्ष अलि तयारीका साथ आफ्नो धारणा लिखित रुपमै राख्ने नयाँ धारणा आएको छ,’ प्रचण्डले भने, ‘यसका लागि प्रतिपक्षीलाई पनि धन्यवाद दिन चाहान्छु ।’
द्वन्द्वकालीन मुद्दाको तर्फ ध्यान दिदै प्रचण्डले भने, ‘शान्तिलाई स्थायी बनाउन केही काम अहिले पनि बाँकी छ । प्रतिपक्षीले र हामीले यसलाई अन्तिम निष्कर्षमा पुर्याउन आवश्यक छ। यसलाई ध्यान दिनु पर्छ ।’
‘हामीले सबै काम गर्यौ भनेर छुट पाउने अवस्था छैन,’ उनले भने,‘संविधानको भावना अनुसार ऐन बनाउने प्रक्रिया अगाडि बढेको छ । जनताले संघीयताबाट जति अपेक्षा गरेका थिए त्यती भएको छैन । त्यो प्रक्रिया पुरा होइन सुरु भएको छ ।’
संविधान संशोधनका विषयमा ध्यान दिँदै प्रचण्डले भने, ‘कयौं समुदायका भावनाहरुलाई सम्बोधन गर्नुपर्छ भन्ने कुरा कायमै छ । हामी सहमति सहकार्य र एकताको भावनालाई कायम राख्नु पर्छ ।’
‘वैदेशिक सम्बन्धहरूलाई कसरी सन्तुलित बनाउने भन्ने समस्या थियो, बीचमा संविधान निर्माणको प्रक्रियामा देखा परेका तिता मिठा अनुभवहरूबाट सिक्यौं’, प्रचण्डले भने, ‘नयाँ सरकार बनिसकेपछि छिमेकीसँगको सम्बन्धलाई सन्तुलित र राष्ट्रिय हित अनुकूल अघि बढाउने प्रयास भएको छ, यसले समृद्धिको ऐतिहासिक आधार तयार भएको छ ।’
प्रचण्डले सरकार सही बाटोमा हिँड्न नसके डरलाग्दो समस्या निम्तिने खतरा भएको बताएका छन् । ‘पुरातन समस्या हल भइसक्यो भनेर ढुक्क हुने अवस्था छैन् । संघीयता कार्यान्वयनलाई हेर्दा जटिलता देखेको छु । सबै कुरा सहज ढंगले गएका छैनन् । त्यहाँ भित्र धेरै जटिलताहरु छन् । कर्मचारी समायोजनमा जटिलता छन्’, प्रचण्डले भने, ‘जनताले धेरै भरोसका साथ हामीलाई हेरिरहेका छन् । सरकारले प्रयासले प्रयास गर्दैछन् भन्ने विश्वास जनताले गर्दैछन् । जनताले आशा गरेअनुसार सरकार र जनप्रतिनिधिले कामा गर्न नसक्ने भए खतराको घण्टी बज्न सक्छ ।’