
काठमाण्डु, २३ वैशाख – सत्तारुढ दल नेकपाकी सांसद रेखा शर्माले धेरै सकारात्मक विषय समेटिएको भन्दै नीति तथा कार्यक्रमको समर्थन गरेकी छन् ।
दुई देशीय कनेक्टिभिटी, नेपालीकै स्वामित्वम जलविद्युत् उत्पादन गर्ने, नागरिक आरोग्य कार्यक्रम र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलगायत निकै सकारात्मक कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको भन्दै उनले अब कार्यान्वयन पक्षलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।
नेपाली कांग्रेसकी सांसद सीता देवी यादवले सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा भएको टिप्पणी गरेकी छन् । गत वर्ष सरकारले घोषणा गरेको समृद्ध नेपाल र सुखी नेपालीका लागि लक्षित भई कुनै पनि कार्यक्रम आउन नसकेको भन्दै उनले यस वर्षको नीति तथा कार्यक्रम पनि नागरिकको हितमा नभएको बताइन् ।
उनले नीति तथा कार्यक्रम गाईजात्रे पुस्तिका जस्तो भएको टिप्पणी गरे । उनले भनिन्, ‘धेरै वर्ष पहिला सुरु गरिएका विकास निर्माणका कामलाई उपलब्धि ठानेर आफ्नो प्रशंसा करिब २५ मिनेट समय खर्चिनु केबल आत्मरतिमा रमाउनु बाहेक केही होइन । १० वर्ष पहिला चलेको स्टिमरलाई उपलब्धि ठान्नु, ८० वर्ष अघि चलेको रेललाई आफ्नो सरकारले चलाएजस्तो भन्नु, आफ्नै स्याटेलाइटलाई सूचना भन्नु , एक जना महिलाको उद्धारको कुरालाई, एउटा झोलुङ्गे पुल बनाएर स– साना काम देखाएर सरकारको एक वर्षको असफलतालाई ढाकछोप गर्ने सरकार जनतामा पुगेको छ ।’
कुनै पनि नयाँ र श्रृजनशील नीतिहरु प्रस्ताव नगरिएको यादवले बताइन् । सरकारले गत वर्ष सम्मानजनक र मर्यादित रोजगारीको अवसर श्रृजना गर्न नसक्ने सरकारले आगामी वर्ष ५ लाख रोजगारी श्रृजना गर्ने भनेर जग हँसाउने काम गरेको आरोप लगाइन् । उनले संघीयतालाई संस्थागत गर्ने र प्रेस स्वतन्त्रतालाई बलियो बनाउने कुनै पनि कार्यक्रम नभएको बताइन् ।
राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भन्ने विषय संशोधन गर्नुपर्ने माग गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए ।
संविधान संशोधन नगर्ने हो भने सम्मृद्धिको सपना कोरा कल्पना हुने भन्दै संविधान संशोधन र राजनीतिक मुद्धालाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकारको नीति तथा कार्यक्रमले कुनै पनि क्षेत्र विशेषलाई प्राथमिकतामा राख्न नसकेको तर्क गरे ।