
काठमाण्डु, १२ वैशाख – चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीलाई भब्य स्वागत गरिएको छ । नौ दिने चीन भ्रमणमा रहेकी भण्डारीलाई सियान विमानस्थलमा सान्सी प्रान्तका उप गर्भनरले स्वागत गरेका थिए ।
त्यस्तै भण्डारी बस्ने होटलको छतमा नेपाली झण्डा फराइएको छ । जुन राष्ट्रपति भवनको झल्को दिने जस्तै छ । सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।
यस होटेलको छतमा नेपालको झण्डा फर्फराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरिन् । मन्दिर परिसरमा उनलाई मन्दिरका प्रमुख चेन किङले स्वागत गरे ।
साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ ।
ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन् । मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए । रासस