अक्षय कुमारले लिए मोदीको अन्र्तवार्ता

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १५:२६ मा प्रकाशित

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनेता अक्षय कुमारलाई ‘गैर–राजनीतिक अन्तर्वार्ता’ दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेता अक्षय कुमारबीच भएको ६७ मिनेट लामो अन्तर्वार्ता समाचार संस्था एसियन न्यूज इन्टरनेशनलको माध्यमबाट भारतको सबैजसो समाचार च्यानलबाट प्रसारित गरिएको थियो ।

प्रधानमन्त्री आवासमा भएको अन्तर्वार्तामा अक्षय कुमारले नरेन्द्र मोदीसँग उनको दिनचर्या, खानपान व्यवहार, मनपर्ने कुरा र बाल्यकालको किस्साका बारेमा प्रश्न गरेका थिए । अक्षय कुमारले यसलाई गैर–राजनीतिक साक्षात्कार बताएका छन् । प्रधानमन्त्री मोदीले चुनावको समयमा गैर–राजनीतिक अन्तर्वार्ता दिन पाउँदा खुशी व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा यो अन्तर्वार्ता चर्चामा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्री मोदीको व्यक्तित्वको प्रशंसा, रोचक टिप्पणी र आलोचना पनि गरिरहेका छन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चुनावी समयमा यस्तो गैर–राजनीतिक अन्तर्वार्ताले राजनीतिमा असर पर्ने बताएका छन् ।

अक्षय कुमारले प्रधानमन्त्री मोदीसँग केही अति सामान्य प्रश्न पनि सोधेका छन्, ‘तपाईँ आँप काटेर खानुहुन्छ वा कोयासँगै खानुहुन्छ, रुघाखोकी लाग्दा के लिनुहुन्छ ?’

तपाईंँले आफू कहिल्यै प्रधानमन्त्री बन्छु भनेर सोच्नुभएको थियो भन्ने प्रश्नमा मोदीले भने, ‘कहिले पनि सोचेको थिइनँ, जसको पारिवारिक पृष्ठभूमि छ उसको मनमा यो इच्छा जाग्नु सामान्य कुरा हो । मेरो पृष्ठभूमि जे थियो, यदि मैले सामान्य नोकरी पाएको भए पनि आमाले छिमेकीलाई मिठाई खुवाउनु हुन्थ्यो, मेरो नजरमा यो अप्राकृतिक हो ।’

सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले अक्षय कुमारकी पत्नी ट्विङ्कल खन्नामाथि दिएको टिप्पणी पनि चर्चामा छ । उनले भने, ‘म सामाजिक सञ्जाल जरुर हेर्छु, यसको माध्यमबाट मलाई विश्वमा भैरहेका गतिविधका बारेमा थाहा हुन्छ । म तपाईंको र ट्विंकल खन्नाको ट्विटर पनि हेरिरहेको हुन्छु र जसरी ट्विकंलले ममाथि रिस पोख्छिन्, म सोच्छु कि यसो गर्दा तपाईंँको परिवारमा धेरै शान्ति हुन्छ होला ?’

अक्षयले प्रधानमन्त्रीलाई विपक्षमा कसको साथी हुनुहुन्छ भनेर सोधेका थिए र जवाफमा मोदीले धेरै नै साथीहरु रहेको र हरेक वर्ष कहिलेकाँही सँगसँगै खानपिन गर्ने बताए । उनले भने, ‘एउटा पुरानो कुरा छ, जब म मुख्यमन्त्री पनि थिइनँ । म र गुलाम नबी आजाद गफ गरिरहेका थियौँ । कसैले तपाईंँ त आरएसएको मान्छे कसरी साथी बन्नुभयो भनेर सोधे । गुलाम नबीले राम्रो जवाफ दिए ।’

प्रधानमन्त्री मोदीले प्रत्येक वर्ष तृणमूल कांग्रेस नेतृ ममता बनर्जीले एक–दुई कुर्था दिने गरेको बताए । मोदीले यो कुराको खुलासा गर्दा आफूलाई चुनावमा यसले प्रभाव पार्न सक्ने पनि बताएका छन् । उनले भने, ‘बंगलादेश भ्रमणमा प्रधानमन्त्री शेख हसिनाजीले बंगाली मिठाइको चर्चा गर्नुभएको थियो । आज पनि उहाँले ढाकाबाट मलाई मिठाई पठाउनुहुन्छ । ममता दिदीले थाहा पाउनुभयो भने पनि वर्षमा एक–दुई पटक मिठाई पठाउनुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us