ओली सरकारको कामबाट प्रचण्ड नै असन्तुष्ट बनेपछि…

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न अभियान चालिने बताएका छन् ।

उनले पार्टी शुद्धीकरणको अभियानसँगै विकासलाई तीव्रताका साथ अगाडि बढाउने बेला आएको बताएका छन् ।

बुधबार ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रचण्डले अब पार्टीले जनचाहनाबमोजिम नै पार्टी विकास र एकतामा अगाडि बढ्ने बताएका हुन् ।

‘नेपाली जनताले कम्युनिस्ट पार्टीको नेतृत्वमा जे देखेका छन् कम्युनिस्ट पार्टी जडसूत्रवादी होइन र अवसरवादी होइन भनेर स्थापित गर्नुछ’, प्रचण्डले भने, ‘एकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ । अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ ।’

पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने प्रचण्डको भनाइ थियो । उनले भने, ‘हामीभित्र शुद्धीकरण र सुदृढीकरणको अभियानको नेतृत्व गर्ने तयारीमा हामी छौँ ।’

उनले पार्टीले जिल्ला कमिटीमा एकता गरेर जनतामा हौसला बढेको पनि बताए । अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्वमा रहेको सरकारले विविध कारणले सोचेअनुसार विकास निर्माणका काम गर्न नसकेको बताए ।

उनले भने, ‘विकास निर्माणका कामले जति गति लिनुपर्ने हो त्यति लिन सकेको छैन । आउने चार वर्षमा हामीले नेपाली जनताका अगाडि जे संकल्प र प्रतिबद्धता गरेका छौँ र जतनताले जुन भरोसा गरेर मत दिएका छन् त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ ।’

अब सरकार र पार्टी विकास निर्माणका कामलाई अगाडि बढाउने अभियानमा लाग्ने प्रचण्डले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us