
काठमाण्डु, ११ वैशाख – आफूभन्दा जुनियरलाई अध्यक्ष बनाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रुपन्देही जिल्ला सचिवमा मनोनित भएका नेता दधिराम न्यौपानेले राजीनामा दिएका छन् ।
एकताका लागि पूर्व माओवादी र एमालेमा भागबण्डा हुँदा रुपन्देहीको अध्यक्ष एमालेको भागमा परेको थियो । एमालेले प्रदेश सदस्य एवं बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई अध्यक्ष बनाएको छ भने पूर्व माओवादी केन्द्रको भागमा परेको सचिवमा न्यौपाने मनोनित भएका थिए ।
आफूभन्दा जुनियरलाई अध्यक्ष बनाएपछि असन्तुष्ट भएर न्यौपानेले मंगलबार राजीनामा दिए पनि त्यसको कारण भने अन्य नै बताएका छन् । उनले प्रदेश ५ इन्चार्ज शंकर पोखरेललाई भेटेरै राजीनामा र पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत राजीनामा बुझाएका छन् ।
राजीनामा पत्रमा उनले नयाँलाई अवसर दिन र आफू प्रदेशसभाको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेकाले जिल्ला सचिव पदमा नरहने उल्लेख गरेको बताइएको छ ।