जिल्लाको पद नलिने नेकपा केन्द्रीय सदस्यको घोषणा

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १०:५५ मा प्रकाशित

काठमाण्डु, १० वैशाख – सत्तारुढ दल नेकपाका जिल्ला सचिवको जिम्मेवारी पाएका ८ जना नेताहरूले जिम्मेवारी अस्वीकार गरेका छन् । पार्टी केन्द्रीय सदस्यकोसमेत जिम्मेवारीमा रहेका माओवादी पृष्ठभूमिका आठ नेताले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिल्लाको पदीय जिम्मेवारी अस्वीकार गर्ने जानकारी दिएका छन् ।

नेकपामा ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाउँदा ७ जना जिल्ला अध्यक्ष र ८ जना जिल्ला सचिव केन्द्रीय समितिबाट परेका थिए । त्यसमध्ये दुई जिल्ला मोरङ र काठमाण्डुका जिल्ला अध्यक्ष र सचिव दुवै केन्द्रीय समितिबाट परेका थिए ।

रौतहट, धनुषा, सर्लाही, सिन्धुपाल्चोक, धादिङ र रुपन्देही गरी ६ जिल्लाका अध्यक्ष केन्द्रीय समितिमा छैनन तर सचिव केन्द्रीय समितिमा थिए ।

तत्कालीन माओवादीतर्फका युवराज भटटराई (रौतहट), गोपी अछामी (मोरङ), श्रवण यादव (धनुषा), डाचाराज वाग्ले(सर्लाही), दावा तामाङ (सिन्धुपाल्चोक), हिमाल शर्मा (काठमाण्डु), शालिकराम जम्मकट्टेल (धादिङ) र दधिराम न्यौपाने (रुपन्देही) ले जिल्ला सचिवको जिम्मेवारी पाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us