कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोड्योः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले जित हात पारेको बताएका छन् ।

आफूहरुले धेरै पहिले ‘हामी जित्नेछौँ’ भनेर गीत गाएको स्मरण गर्दै अध्यक्ष ओलीले लामो समयको संघर्ष र आन्दोलनपश्चात नेपाली नागरिकको जित भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीको ७०औँ स्थापना दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ठूलो कष्ट, बाधा र व्यवधान व्यहोर्दै नागरिकले जित्ने समय आएको बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनको सुरुवातमा पुष्पलाल श्रेष्ठका विचारलाई पनि स्वार्थको राजनीतिले हेरेकाले कम्युनिष्ट आन्दोलन कमजोर हुन पुगेको ओलीले बताए । त्यसपछि मदन भण्डारीको अगुवाइमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा गन्तव्यमा पुर्याएको ओलीले बताए ।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि नेपाली कम्युनिष्ट आन्दोलन एउटा उचाइमा पुगेको बताउँदै आफूहरु ‘जनताको जनवाद’ तर्फ अगाडि बढेको ओलीले बताए ।

सम्झाउँदा, बाध्य पार्दा नेपाली कांगेस एकाध पल्ट मात्रै परिवर्तनको बाटोमा अगाडि आएको अध्यक्ष ओलीले बताए । नेपाली कांग्रेसले धेरै पटक प्रतिक्रियावादी शक्तिहरुसँग घाँटी जोडेको ओलीले बताए ।

‘आज अचम्म लाग्छ कांग्रेस कहाँ पुग्यो । कांग्रेसका धेरै नेताले राजतन्त्र फर्काउने सपना देख्दा विचित्र लाग्छ,’ प्रधानमन्त्रीले भने, ‘प्रतिक्रयावादीसँग घाँटी जोडिने जनताको शक्तिसँग सहकार्य नगर्ने कांग्रेसको गलत नीति छ ।’

कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर अगाडि हिँडेको देख्दा आफूलाई अचम्म लागेको नेकपा अध्यक्ष ओलीले बताए । यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक र प्रगतिशील शक्तिसँग एकता गर्नुपर्ने ओलीले बताए ।

साथै उनले देशमा पृथकतावादी आन्दोलन गरेकालाई मूलधारको राजनीतिमा ल्याएको बताए । पृथकतावाद समाप्त हुनु देशका लागि खुशीको कुरा भएको बताए । केही मान्छे भने पृथकतावादी आन्दोलन सकिएकाले केमा खेल्ने भनेर चिन्ता गरिरहेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us