युक्रेनको राष्ट्रपतिमा हाँस्यकलाकार निर्वाचित

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १०:३१ मा प्रकाशित

युक्रेन, ९ वैशाख – पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार भोलोदमिर जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका छन् । ४१ वर्षीय जेलेन्स्कीले भारी मतका साथ राष्ट्रपतीय चुनाव जितेका छन् ।

आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाएका छन् । उनका प्रतिष्पर्धी राष्ट्रपति पेट्रो पोरोसेन्कोले जम्मा २५ प्रतिशत मत ल्याएका छन् । औपचारिक रूपमा नतिजा घोषणा हुनुअगावै पोरोसेन्कोले हार स्वीकारिसकेका छन् ।

सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याएका छन् ।

त्यही भएर तीन साताअघि भएको पहिलो चरणमा ३० प्रतिशतमात्र मत पाएका उनले दोस्रो चरणमा आफ्नो पक्षमा ४५ प्रतिशत मत थपे । जबकी पहिलो चरणका ३७ उम्मेद्वारमध्ये १५ प्रतिशत मत पाएका राष्ट्रपतिले दोस्रो चरणमा १० प्रतिशत मात्र मत बढाउन सके ।

एक्जिट पोलका नतिजाहरू सार्वजनिक भएपछि राष्ट्रपति पोरोसेन्कोले चुनावी परिणामले अनिश्चितता र अस्थिरतातर्फ लिएको प्रतिक्रिया दिएका छन् । धनाढ्य पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए । तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो ।

‘म राष्ट्रपति कार्यालय छोड्नेछु तर जोड दिएर भन्न चाहन्छु, म राजनीति छोड्ने छैन,’ उनले भने ।

जेलेन्स्कीले भने समर्थकहरूलाई सम्बोधन गर्दै उनीहरूलाई निराश नपार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

चुनावी अभियानमा कुनै राजनीतिक र सामाजिक विषयलाई भन्दा अरू उम्मेदवारभन्दा आफू किन ठीक छु भन्ने कुरालाई एजेन्डा बनाएका जेलेन्स्कीले भने, ‘आधिकारीक रूपमा म अझै राष्ट्रपति भइसकेको छैन । तर युक्रेनी नागरिकको हैसियतमा पोस्ट सोभियत युनियनका देशहरूलाई म भन्न सक्छ, हामीलाई हेर, जे कुरा पनि सम्भव छ ।’

युक्रेनका राष्ट्रपतिलाई सुरक्षा, प्रतिरक्षा र विदेश नीति निर्धारणमा विशेष भूमिका हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us