एजेन्सी । श्रीलंकामा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन् ।
श्रीलंकाली सञ्चारमाध्यमले जनाएअनुसार स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो । इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो ।
लगभग उस्तै समयमा दुई ओटा पाँचतारे होटलमा पनि बिस्फोट भएको जनाइएको छ । राजधानी कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा बिस्फोट भएको हो ।
बिस्फोटबाट विदेशी पर्यटकसहित कैयौंको हताहती भएको बताइएको छ । समाचार संस्था एएफपीले कम्तीमा ८० जना घाइतेलाई अस्पताल भर्ना गरिएको जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।