जितगढी किल्लामा फहराइयो नेपालकै ठूलो राष्ट्रिय झण्डा

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १६:०१ मा प्रकाशित

बुटवल, ७ बैशाख – अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइएको छ ।

बुटवल उपमहानगर–१ स्थित जितगढीमा ५५ फिट अग्लो टावरमा ९ फिटको झण्डा फहराइएको हो । ९ फिट उचाईकै कर्णेल उजिरसिंहको तामाको पूर्ण कदको शालिक समेत अनावरण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाली राष्ट्रिय झण्डाको झण्डोत्तलन र शालिकको अनावरण गरेका हुन् । त्यस अवसरमा जितगढी किल्लामा राखिएको राष्ट्रिय झण्डा र शालिकलाई नेपाली सेनाले सलामी अर्पण गर्नुका साथै सराय नाच प्रदर्शन गरेको छ ।

वि.सं. १८७२ साल वैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले जनरल उड नेतृत्वको अंग्रेज फौजमाथि विजय प्राप्त गरेको थियो ।

हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीमा गत वर्षदेखि बुटवल उपमहानगरले जितगढी विजय उत्सव दिवस मनाउन थालेको थियो । उपमहानगरले ४४ लाख खर्चेर उजिरसिंहको पूर्ण कदको शालिक र राष्ट्रिय झण्डा राखेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us