एजेन्सी – क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फुटबलर लियोनल मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने खेलाडी बनेका छन् ।
३१ वर्षीय मेस्सी आफ्ना प्रतिस्पर्धी इटालियन क्लब युभेन्टसका पोर्चुगिज रोनाल्डोलाई झण्डै दोब्बर रकमले पछि पार्दै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका हुन् । फ्रेन्च पत्रिका ‘एलइक्विप’ हालै सार्वजनिक गरेको तथ्यांकअनुसार मेस्सी युरोपमा सबैभन्दा बढी कमाइ गर्ने फुटबलर हुन् ।
तथ्यांकअनुसार खेलाडीको तलब र अन्य कमाइका आधारमा यस्तो सूची सार्वजनिक गरिएको हो । एलइक्विपले युरोपका टप–५ लिग ला लिगा, प्रिमियर लिग, सिरी ए, लिग वान र बुन्डेस लिगाका खेलाडीबाट धेरै कमाइ गर्ने खेलाडीको सूची तयार पारेको हो ।
सूचीमा बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले मासिक ७.३ मिलियन युरो कमाउँछन् । त्यसपछि रोनाल्डो दोस्रो स्थानमा छन् । ३४ बर्षीय रोनाल्डोले मासिक ४.१ मिलियन युरो कमाउँछन् । यो कमाई कर कटाएर हो ।
यस्तै एन्टोइन ग्रीजम्यान (एट्लेटिको म्याड्रिड) २.९ मिलियन, नेमार (पिएसजी) २.७ मिलियन, लुइस स्वारेज (बार्सिलोना) २.५ मिलियन र ग्यारेथ बेल (रियल म्याड्रिड) २.२ मिलियन युरो कमाउँछन् ।
यस्तै फिलिपे कोउटिन्हो (बार्सिलोना) २ मिलियन, एलेक्सिस सान्चेज (म्यानचेस्टर युनाइटेड) २ मिलियन, केलियन एमबाप्पे (पिएसजी) १.५ मिलियन, मेसुट ओजिल (आर्सनल) १.४ मिलियन, इडिन्सन काभानी (पिएसजी) १.३ मिलियन र रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख) १.२ मिलियन युरो आम्दानी गर्छन् ।