
टोकियो, ९ पुुस– जापानको प्रधानमन्त्रीमा हालका कामचलाउ प्रधानमन्त्री सिन्जो अबे पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री आबे बुधबार जापानी संसदको तल्लो सदन डायटद्वारा स्पष्ट बहुमतका साथ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्री आबेको दलले हालै सम्पन्न आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको थियो । सो दलको गठबन्धनको हिसाब गर्दा भने उक्त गठबन्धनले करिब दुई तिहाई बहुमत नै हासिल गरेको थियो ।
साठी वर्षीय अबेलाई जापानको संसदले दोस्रो पटक प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । उनले संसदमा ३२८ मत प्राप्त गरेका थिए ।
उनको विपक्षमा ७३ मात्र मत खसेको थियो । जापानी संसद डायट ४७५ सदस्यीय हो । विपक्षी दलका नेता कात्सुया ओकादाले ७३ मत मात्र प्राप्त गरेका हुन् ।
प्रधानमन्त्री आबेले यसअघि संसदको विघटन गरी गत डिसेम्बर १४ मा आमनिर्वाचनको आह्वान गरेका थिए । सो निर्वाचनमा उनको दल र सो दलसम्बद्ध गठबन्धनले दुई तिहाई बहुमत मत हासिल गरेको थियो ।
जापानी संसदले उनलाई प्रधानमन्त्री चयन गरेको समाचार बुधबार बिहान जापान सरकारले औपचारिक रुपमा नै जानकारी गराएको छ ।
उनले यस कार्यकालमा जापानको आर्थिक विकास गरी पहिलाको अवस्थामा नै पु¥याउने प्रण गरेका छन् । उनको मन्त्रिमण्डलले बुधबार बिहानै राजिनामा दिएको थियो । त्यसपछि आजै संसदले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो ।
उनले आजै नयाँ मन्त्रिमण्डल घोषणा गर्ने छन् । जापानी सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेले नयाँ मन्त्रीमण्डल गठनको तयारी थालेको बताएका छन् ।
रासस