
बागलुङ, ८ पुस–भनिन्छ, ‘हातमा सीप भए कहीँ गए पनि मर्नु पर्दैन ।’ कहीँ जानु नपरे पनि घरमै बसीबसी सीप बेच्ने मीरा श्रेष्ठको जीवन हिजोआज फेरिएको छ ।
आफैले आर्जेको सीप चलाएर बागलुङ नगरपालिका २ की श्रेष्ठले परिवारमा समेत खुसी ल्याएकी छन् । वर्षैभरि रोटीका विभिन्न परिकार बनाएर श्रेष्ठको दैनिकी बित्छ ।
घरकै आमा र छिमेकीबाट सिकेको परम्परागत सीप नै आज श्रेष्ठको जीवन फेर्ने कारक बनेको छ । धेरै प्रकारका रोटीका परिकार बनाउन श्रेष्ठ खप्पिस छिन् । नेवार परिवारकी भएर पनि होला, रोटी बनाउने कलामा बागलुङमै उनी अब्बल छिन् । ‘मैले घरमै सिकेँ, आमाले बनाएको हेरेर जान्ने भएँ, नेवारी चलनका सबै रोटी बनाउन सक्छु,’ श्रेष्ठले भनिन् ।
वर्षमा आठ दश लाख कमाउने श्रेष्ठका रोटी ग्राहक बागलुङमा मात्र छैनन्, छिमेकी जिल्ला र ग्रामीण भेगसम्म छन् । ‘दसैँ, तिहारमा त मलाई फुर्सदै हुँदैन, दिनरात नभनी खटिनुपर्छ, अघिपछि पनि खाली बस्नुपरेको छैन’ श्रेष्ठले भनिन् । श्रेष्ठले मुख्य गरी झिनुवा, फिने, चिने, खुर्मा, खुदे, सेललगायतका रोटी बनाएर बेच्ने गर्छिन् ।
श्रेष्ठको काममा श्रीमान् राजेन्द्र र छोराछोरीले पनि सघाउने गरेका छन् । विगत १३ वर्षदेखि श्रेष्ठले यो व्यवसाय गर्दै आएकी छन् ।
‘तिहारका बेला त ट्रक नै लिएर झिनुवा लिन आउँछन्, छिमेकी पर्वत, म्याग्दीबाट आउने व्यापारीले एकैसाथ एक लाखभन्दा बढीको झिनुवा उठाउने गर्छन् ।’ श्रेष्ठले भनिन् । घरेलु सीपको प्रयोगबाट कम लगानीमा राम्रो आम्दानी जुटेपछि श्रेष्ठ परिवार पनि खुसी छ । छोराछोरी पढाउनेदेखि घरव्यवहारको सबै खर्च सोही आम्दानीबाट हुने गरेको छ ।
झिनुवा बनाउन २० हजार लगानीमा सहयोगी यन्त्र पनि राखिएको छ । सानो आकारको झिनुवा प्रतिदर्जन ७० र ठूलो एक सय ३० मा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिइन् । रासस