
सुर्खेत, ६ पुस– दैलेखका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली चढेको गाडीले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ ।
प्रमुख जिल्ला अधिकारी चढेको बा १ झ ७६५८ नम्बरको गाडीले किच्दा शनिबार दिउँसो दुई वर्षकी बालिका खुसी मल्लको ज्यान गएको हो ।
गाडीले किचेपछि गम्भीर घाइते भएकी मल्लको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उच्च पहाडी गरिबी निवारण कार्यक्रमको सार्वजनिक परिचालकको परीक्षाको अनुगमन गर्न जान लागेका प्रजिअ पराजुली चढेको गाडीले नारायण नगरपालिकाअन्तर्गत नयाँबजारमा बालिकालाई किचेको थियो ।
गाडीले किचेपछि गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो । प्रजिअ पराजुली गाडीबाट ओर्लिएपछि चालकले गाडी व्याक गर्नेक्रममा बालिकालाई किचेको थियो ।
जिल्ला अस्पतालका चिकित्सक निर्मल रसाइली र विनोद डंगोल निजी क्लिनिक सञ्चालन गर्न जिल्लाको नौमुले गएका कारण उपचार हुन नसकेपछि बालिकाको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।
बालिकालाई किच्ने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अन्नपूर्ण पोष्टबाट