कम्प्युटर सफ्टवेयरबाटै व्यक्तिगत घटना दर्ता

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ८:०१ मा प्रकाशित

सिन्धुपाल्चोक, २८ मंसिर– सिन्धुपाल्चोक जिल्लाका सबै गाविसमा कम्प्युटर सफ्टवेयरबाट व्यक्तिगत घटना दर्ता गर्न थालिएसँगै दर्ता प्रमाणपत्र एउटै ढाँचाको हुने भएको छ ।

index
जिल्ला विकास समितिसँगको सहकार्यमा सेभ द चिल्ड्रेनले गाविसलाई कम्प्युटर उपलब्ध गराएपछि सबै गाविसबाट हुने व्यक्तिगत घटना दर्ता एउटै ढाँचामा हुने भएको हो ।

यो आर्थिक वर्षसम्म जिल्लाका ४४ गाविसले कम्प्युटरबाटै घटना दर्ता गर्न सुरु गरिसकेको जिल्ला विकास समितिले जनाएको छ ।

चालु आर्थिक वर्षमा कम्प्युटरबाट घटना दर्ता सुरु नगरेका गाविसमा अर्काे आर्थिक वर्षदेखि त्यसो गर्न लगाइनेछ । व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्म, विवाह, सम्बन्धविच्छेद र मृत्यु पर्दछ ।

पाँचवटा व्यक्तिगत घटना दर्तालाई ‘कम्प्युटराइज्ड’ गर्दै  अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रमाणपत्र बनाइने भएकाले वैदेशिक रोजगारमा जानेले नोटरी पब्लिकमा गएर अनुवाद गर्ने झन्झटबाट समेत मुक्ति पाएको जिविसका कार्यक्रम अधिकृत राजुभाइ श्रेष्ठले बताए
हस्तलिखित घटना दर्ताबाट सम्बद्ध कर्मचारीले अनियमितता गर्नेजस्ता समस्या आइरहेका बेला यो प्रणाली प्रभावकारी हुने विश्वास लिइएको छ ।

गाविसबाट हुने सबै कार्यक्रम कम्प्युटर सफ्टवेयरबाट हुने भएपछि अनियमितता पूर्णरुपमा रोकिने जिविसले जनाएको छ ।

एक नगरपालिकासहित ७५ गाविस रहेको यस जिल्लामा पहिलो चरणअन्तर्गत सन् २०१२ मा परीक्षणका रुपमा कालिका, ठोकर्पा, जेठल र फुल्पिङकोट गाविसमा व्यक्तिगत घटना दर्ता कम्प्युटर सफ्टवेयरबाट गरिएको थियो ।

परीक्षण गरिएका गाविसमा काम प्रभावकारी भएपछि सन् २०१३ मा १६ गाविस र २०१४ मा २४ गाविसमा यो कार्य विस्तार गरिएको श्रेष्ठले बताए ।

गाविस सचिव र स्थानीय प्रशासन तथा सामुदायिक विकास कार्यक्रमका परिचालकलाई तालिम प्रदान गरेर प्रत्येक गाविसमा कम्प्युटरसमेत प्रदान गरिसकिएको छ ।

कम्प्युटर प्रणालीबाट काम सुरु भएपछि सेवा सुविधा चुस्त र दुरुस्त हुने जिविसको दाबी  छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us