प्रचण्ड आफैं भन्छन्, ‘म तरबारको धारमा उभिएको छु’

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते २:५५ मा प्रकाशित

prachandaकाठमाण्डु, २८ मंसिर– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार ६० वर्ष पुगे, तर जन्मदिन मनाएनन् ।

यो क्षणमा उनले आफू तरबारको धारमा उभिएको महसुस गरे । अनेक राजनीतिक चुनौतीले घेरिएको यो समय उनलाई अति कठित घडी लागेको छ । भन्छन्, ‘सायद यति अप्ठेरो सशस्त्र युद्धका बेला पनि परेको थिएन । सशस्त्र युद्धका बेला राज्यसित मात्र लड्नुपथ्र्यो ।’

‘यतिबेला गौंडागौंडामा लड्नुपर्ने अवस्था छ’, लाजिम्पाटस्थित निवासमा उनले भने, ‘बहुलडाइँ जित्नु साच्चिकै चुनौतीपूर्ण हुँदोरहेछ ।’
१० वर्ष सशस्त्र युद्धसहित २७ वर्ष पार्टीको नेतृत्व गरेका उनलाई यतिबेला दुई काम सम्पन्न गर्नुपर्ने अग्निपरीक्षा छ । पहिलो, संविधानसभाबाट संविधान नबनाएको अपजस व्यहोर्नुपरेको छ । अर्को, पार्टी एकताबद्ध नगरेको आरोप पनि निरन्तर खानु परेको  छ ।

पहिलो संविधानसभाबाट संविधान नबन्नु र एमाओवादी फुट्नु उनका निम्ति सबभन्दा तीता क्षण हुन् । उनीसामु ठूलो चुनौती संविधान निर्माण हो । कारण–संविधान निर्माणसँग उनको राजनीतिक भविष्य गाँसिएको छ ।

जति संविधान छिटो बन्छ, त्यति उनको राजनीतिक उचाई बढ्नेछ । ‘कहिले कसलाई, कहिले कसलाई उचालेर मैमाथि आक्रमण गर्ने काम हुन्छ’, कसैको पनि नाम नलिएर निकट नेताहरुसँग उनले भन्ने गरेका छन्, ‘त्यो राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिको काम हो ।’

आफूलाई कहिले बढी समर्थन र कहिले बढी विरोध गरेर अप्ठ्यारोमा पार्ने काम गरेको उनले महसुस गरेका छन् ।

यतिबेला उनलाई डरैडर देखाएर कमजोर पार्ने खेल भइरहेको ठानेका छन् । यो डरबीच उनले संविधान निर्माण र पार्टी एक बनाउने काम गरेरै छाड्ने अठोट गरेका छन् ।
गंगा बीसी/कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us