घरभित्र छोरा चल्छ, बुहारी चल्दैन…

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते ४:५४ मा प्रकाशित

रगत चल्छ, श्रम चल्छ, सिप चल्दछ
तर पनि किन हाम्रो पानी चल्दैन…
गीतकार शरद पौडेलको यही गीत जस्तो मान्छेकै ‘पानी नचल्ने’ समाज परिवर्तन गर्न माओवादी जनयुद्धमा लागेको एक जोडीले जात व्यवस्था फेर्न अन्तर्जातीय विवाह गर्यो । युद्ध अवधि र राजनीतिमा माओवादी शक्तिशाली भएको समयमा कसैबाट अपमान बेहोर्न नपरेको यो जोडी माओवादी पार्टी कमजोर हुन थालेपछि घरगाउँमा पनि बहिष्कृत हुँदै जान लागेको छ । अहिले घरभित्र बाहुन छोराले प्रवेश पाउने र दलित बुहारीले बहिष्कृत हुनुपरेको छ । नुवाकोटका एमाओवादी नेता समेत रहेका नवीन पुडासैनी आफ्नो अन्तर्कथा यसरी सुनाउँछन् :

———————-

यसरी भएँ माओवादी
nabin 1

मेरो घर कुमरी- ५ नुवाकोट हो । २०५२ मा देशमा जनयुद्ध सुरु हुँदा लक्ष्मीश्वरी निमावि कुमरीमा कक्षा सातमा पढ्थें । त्यतिबेला अखिल क्रान्तिकारीको विद्यालय इकाई सदस्य भएर काम गर्थें । २०५३ जेठदेखि एक महिना पार्टीले नुवाकोट रसुवा (नुर) अभियान चलाएको थियो, जनमोर्चाको नाममा । म १३ वर्षजतिको थिएँ । मलाई सानेदेखि गीत गाउन र नाच्न रहर लाग्थ्यो । परिवार पहिल्यैदेखि जनमोर्चा समर्थक हो । घरमा सल्लाह गरेरै म पनि नुर अभियानका लागि कलाकारका रुपमा हिडें । म स्कुल पोशाकमै थिएँ । राति बागेश्वरीमा पुष्प लामिछानेको घरमा बसेका थियौं । रातभर भोलिपल्टका लागि नाच्ने गाउने तयारी गरियो । भोलिपल्ट अभियानको उदघाटन र कार्यक्रम थियो । खाना खाने तयारी भइरहेको थियो । बिहान नौ बजेतिर प्रहरी छापा मार्न आयो भन्ने खबर आयो । पस्किएको खाना छाडेर भागियो ।
खेत, बारी, पखेरा र घारी हुँदै भागियो । ऐसेलुको काँडाले कोतरेर शरीरभरि घाउ नै  घाउ भयो । भागेर फलाँटे भन्ने ठाउँमा पुगियो । हामी १५ जनाजति थियौं । धेरै भोक लागेको थियो । खल्तीमा एक रुपैयाँ थिएन । एकजना शिक्षिका भेटियो । पार्टीलाई माया गर्नुहुँदो रहुछ । उहाँले पसलमा दही चिउरा किनेर खुवाउनुभयो । त्यहाँबाट सूर्यमतिको पट्टाबारीमा गयौं । धर्मराज अधिकारीको घरमा पुगेर दिउँसो ३ बजेतिर आलु उसिनेर खाइयो ।  त्याृ दिन चौघडामा बास बसियो । भोलिपल्ट आँप्रह बजारको सहरेटारमा सांस्कृतिका कार्यक्रम गरियो । मैले गीत गाएको थिएँ । सातबिसे हुँदै थप्रेक गयौं । एकदमै भोक लागेको थियो । भीमसेन कार्कीको घरमा पुग्यौं । उहाँको घरमा बच्चालाई भात राखेको रहेछ । साथीहरुले मागेर खुवाउनुभयो । त्यहाँबाट समुन्द्रटार हुँदै छहरे, आइपुग्यौं । बुबा बिरामी भन्ने खबर आयो । घर गएँ । फेरि स्कुल जान थालें । घरमै बसेर पार्टीका कामहरु गर्थें । २०५५ मा लक्ष्मीश्वरीको इकाई अध्यक्ष भएँ । ०५६ मा वीरेन्द्र माविको सचिव । त्यही साल भूमिगत भएँ । १० मा पढ्दै थिएँ । पढेर यो देशको ठूलो मान्छे बन्ने सोच थियो । सानैदेखि अन्याय सहन मात्र होइन देख्नै सक्दैनथें ।

साथीको उपचारमा जाँदा यस्तो यातना
२०५८ सालको फागुन १७ गते । सुन्दरामावि सातबिसेमा कार्यक्रम थियो । विद्यार्थीको जिल्ला सदस्य थिएँ । रजमान तामा विद्यार्थी सचिव थिए । उनी बिरामी परे । मेरो आफन्तहरु काठमाण्डुमा थिए । त्यतिबेला नागरिकता नभई काठमाण्डुमा बस्न पाइन्नथ्यो । आफन्तहरु धेरै भएकाले सेल्टरका लागि सहयोग हुन्छ भनेर पार्टीले पठाएको थियो । चावहिलको मेडिकेयर हस्पिटलमा रजमानको उपचार गराएँ । उपचारपछि मामाघर बालाजु बाइपासमा ल्याएर राखें । जिल्लामा पढ्ने किताबहरुको अभाव थियो । भएका किताब सेनाले जफत गरिसकेको थियो । पढ्न मन लाग्ने बेला थियो । भोटाहिंटीबाट हामीले करिब ३५ सयको किताब किन्यौं । माओका सैन्य रचना, माक्र्सका पूँजीसहितका किताब थिए ।

रजमान बिरामी भएकाले किताब मैले बोकें । उनको झोलामा औषधि र पत्रिका मात्र थियो । यो १९ फागुनको कुरा हो । मामाघरमै आएर बसियो । नुवाकोट फर्कने बेलामा मामाले किताब नलैज पक्रउ, पक्राउ पर्छौ भन्नुभएको थियो । २० गते बिहान ५ बजे उठेर हिंड्यौं । सात बजेअघि नै गुर्जेको नाका पार गर्नुथियो । तर बाटो नचिन्दा पक्राउ परियो । बालाजुको १ नम्बर बाहिनीको गेटमा पुगिएछ । दुवैको कपडा एउटै थियो । ५ देखि १० मिटर दूरीमा थियौं । उसलाई छोड्यो । तर मेरो झोलामा किताब फेला पारेपछि पछि फेरि समातेर ल्यायो । आँखामा पट्टी लगाएर भित्र लग्यो । नाम र ठेगाना ढाट्यौं । लिखुको २ नम्बर घर भनियो । म प्रकाश गुरु उ राजेन्द्र गुरु ।

हाम्रै नाम लिएर फलानालाई चिन्छस् भनेर सोधिरहेको थियो । चिन्दैनौं भनियो । दाजुभाईका छोरा भनियो । सेनाले चिनने । एक हप्तासम्म सिस्नु, करेण्ट, लगायो । एक हप्तापछि हनुमानढोका लगियो । हनुमानढोकामा पुलिसले तँ गुरु होइनस् भन्यो । मैले आमा बाहुनी बुबा गुरु भनेर ढाटें । हामीसँगै जेल बसेका अधिवक्ता नारायण अधिकारीले छुटेर गएपछि बन्दी प्रत्यक्षीकरण रिट हालिदिए । चैत १ मा भद्रबन्दी गृह केन्द्रीय कारागार चलान गरिएको थियो । बन्दी प्रत्यक्षीकरण रिटबाट ०५९ चैत ११ गते छुटें । सिधै घर आएर पार्टी सम्पर्क खोजें । तीन दिनपछि साथीहरु भेटियो । रिन मार्च अभियान चलेको रहेछ । फेरि पार्टी काममा लागियो ।
यसरी भेटियो जीवनसाथी
IMG_0069पार्टी कामको सिलसिलामा कल्पना सुनार (श्रीमतिसँग) राउतवेशीमा भेट भयो । दलितको जिल्ला भेला थियो । पहिलोपटक त्यहीं भेट भयो । देखादेख भयो । कुराकानी भएन । मैले प्रशिक्षण दिएको थिएँ । हामीले जातीय समानता र दलित मुक्तिको कुरा गरियो । पार्टीले भनेकै कुरा सिकेर जातपातको विभेद गर्नु हुँदैन । सबै मानिस बराबर हो । यस्तैयस्तै कुरा गरेको थिएँ । कल्पनालाई हाम्रो कुरा मन परेछ । हुन पनि जातीय विभेद अन्त्यको कुरा राम्रो थियो । प्रशिक्षण मन परेपछि प्रभावित भएकी उनी २०६१ मा पार्टीमा पूर्णकालिन भइन् । पार्टीमा हिंडेपछि थप चिनजान भयो । मध्य युद्धको बेला थियो । धादिङको लापामा प्रशिक्षण थियो गण्डक क्षेत्रको । पोष्टबहादुर बोगटी आउनुभएको थियो । हामी सँगै गएका थियौं ।
प्रशिक्षणपछि रीमा जिल्ला कमिटीको बैठक थियो । जिल्लाको बैठकपछि २०६२ साउन ४ मा रीमा जनवादी विवाह भयो । पार्टीमा विवाहका लागि निवेदन दिनुपथ्र्यो । हामी नजिक थियौं, तर भन्न गाह्रो भइरहेको थियो ।
नजिक थियौं । पार्टीकै सुझावमा विवाह गर्यौं । पुष्पविक्रम मल्लले विवाह गाइदिनुभएको हो ।
पहिला दलित विवाह इज्जत थियो, अहिले यस्तो
पार्टीले अन्तर जातीय विवाहका लागि प्रोत्साहन गथ्र्यो । दलित विवाह गर्नेको इज्जतकै ठूलो हुन्थ्यो । अन्तरजीय विवाह गर्ने चाहिं इमान्दार सिपाही कहलिन्थ्यो । म आफैं पनि पहिल्यैदेखि जातीय विभेद अन्त्यको पक्षमै थिएँ । समानताको लडाईं लडेको भनियो । आफूले बुझेको पनि त्यही हो । जे बुझियो त्यही जीवनमा लागू गरियो ।
विवाहको एक हप्तापछि घर गइयो । म धादिङ हुँदै नुवाकोटमा म मरेको हल्ला चलेछ । घरपरिवार शोकासुल थियो । रेडियोमा समाचार आइरहेको थियो । सेनाको हवाला दिएर गाउँखर्कमा प्रतिकारका क्रममा मरेको भनियो । तर घटना केही भएको थिएन, त्यसै नक्कली भिडन्तको कथा रचिएको थियो । अहिले पनि त्यो कुरा सम्झेर हाँसो उठ्छ ।  इन्सेकको वार्षिक प्रतिवेदनमै मृतक भनेर मेरो नाम छापिएको थियो । शान्ति प्रक्रियापछि मैले हटाउन लगाएँ  । भिडन्तमा मरेको भनिएको छोरा दुलही लिएर घर पुग्दा परिवारको खुसीको सीमा रहेन । पार्टीमा पनि मेरो भर्खरै पदोन्नति भएको थियो, इलाका सचिवबाट इन्चार्जमा । केही दिन घरमै बसियो । हामी गाउँघरतिर पनि सबैको घरमा बसेका छौं, खाएका छौं । २०६३ सालमा श्रीमतिको पेटमा बच्चा आयो । त्यो सालको असोेजबाट घरमै बसेको हो । मंसिरमा जेठी छोरी जन्मिइन । छोरी दुई वर्ष हुँदासम्म घरमै बसिन्  । घाँस दाउरा भारो पर्म सबै चलेको थियो । घरमा खाना पकाउने गर्थिन । मेलामा खेतालालाई खाजा बनाएर लान्थिन । सबैले खान्थे । स्वीकार गरेकै अवस्था थियो ।
जब माओवादी खुम्चियो, तब गाउँलेको व्यवहार फेरियो
पहिलो संविधानसभा निर्वाचनबाट माओवादी ठूलो पार्टी भयो । कटवाल प्रकरणमा प्रचण्डले सरकार छाडेपछि गाउँमा विपक्षी राजनीति गर्ने मानिसहरुले यो कुरालाई एजेण्डा बनाए । मेरी श्रीमतीलाई घरमा ल्याउन प्रतिबन्ध लगाए । तँ आइज, बुहारी नल्याजस्ता कुरा गर्न थाले । तँ हाम्रो भाई छोरा होस्, व्यक्तिगत दुस्मनी केही होइन । तर तल्लको जातको केटी हाम्रो घरमा आउँदा कुल रिसाउँछ भन्थे ।
श्रीमती छाड्न दबाब
मैले प्रतिवाद पनि गरें । तर पछि सोचें आफ्नै गाउँघर हो, कति लफडा गर्नु । गाउँलेका कुरा मानेर उसलाई विदुर ल्याएँ । त्यसपछि अर्को सर्त ल्याए । काँग्रेका मानिसहरुले घरमा बुबाआमालाई छोरा बुहारीलाई नल्याऊ । आउजाउ नगर भनेर दबाब दिए । कुल बिग्रन्छ, यसरी हुँदैन । प्रचण्डको छोराले आफ्नो जातको बिहे गर्ने । तैंले चाहिं दलित बिहे गर्ने भने । पटकपटक श्रीमती छोड्न दबाब पनि दिए । नभए समाजबाटै अलग्याउने धम्की दिए । तर म त्यसो गर्न सक्दैनथें र सक्दिन पनि ।
हजुरबुबा बितेपछि अर्को लफडा
२०६७ मा कान्छा हजुरबा बित्नुभयो । त्यो बेलामा श्रमति घरमै थिइन् । म पनि जण्डिस भएर घरमै आराम गरेर बसेको थिएँ । हजुरबा बितेपछि मैले नै फोन गरेर मलामी बोलाएँ । त्यसपछि हामीलाई खास गरी मेरी श्रीमति र बच्चालाई घरमा राख्नु हुँदैन भन्ने राजनीति सुरु भयो । मलाई तँ आइज तर उलाई नल्याउ भन्थे । तर हामी बसियो । भदौको घटना हो । दसैं मानेपछि छोरी घरमै जन्मिई । न्वारन बाहुनले नै गरे । अहिले गाउँलेले ति नै बहाुन लगाइरहेका छन् ।  त्यसयता हामी गाउँ गएका छैनौं ।

बाआमाले कान्छा छोरासँग बस्न पाउनुभएन
एक वर्षदेखि घरमा कोही छैन । बुबाआमा सिमरामा दाईसँग हुनुहुन्छ । बुबाआमालाई टर्चर हुन्छ । तर तैंले गर्दा यस्तो भयो कहिल्यै भन्नुभएको छैन । बरु हरेक अप्ठेरो अवस्थामा हामीलाई साथ दिनुभएको छ । बुबा ७ र आमा नौ सालको हुनुहुन्छ । छोराबुहारीको साथमा रहन्छु भन्ने थियो । कान्छा छोरा हुँ । गाउँ घरमा बुबाआमाको मन कान्छा छोरासँगै बस्ने हुन्छ । तर बाआमाले मसँग बस्न पाउनुभएन ।
छोरीले घर जाउँभन्दा पीडा
babin doughterजेठी छोरी पाँच वर्षको हुँदासम्म घर जान खोज्थिन् । अरु बेलाभन्दा दसैं तिहारमा बच्चाहरु घर जान खोज्छन् । हाम्रो घर कुमरी हो रे कस्तो छ जाऔं न भनिरहन्थिन । एकपटक दसैंको बेलामा अरु सबै घर गएको देखेर हामी पनि घर जाऔं न भनेकी थिइन् । हामी जाँदैनथ्यौं ।
म जान्थें सबैकोमा पस्थें । मलाई चाहिं कसैको घरमा रोकतोक छैन । बुबाआमा छउन्जेल जान्थें । छोरी ठूली भएपछि लगिदिन्छु भनेको छु । अहिले आठ वर्षकी भइन् । कुरा बुझेर होला घर जाने कुरा नगरेको धेरै भयो । कसैले सोध्यो भने उनी हाम्रो घर कुमरी हो । टाढा छ, हिँडेर जान गाह्रो हुन्छ, ठूलो भएपछि जान्छु भन्छिन् ।
पछुतो होइन, गर्व छ
मलाई पछुतो छैन । मैले जे गरेको छु, ठीक गरेको छु । गलत सामाजिक संस्कार तोड्न सानै भए पनि योगदान दिएको छु जस्तो लागेको छ । नेपाली समाजले जसलाई जबर्जस्ती दलित बनाएको छ । उनीहरु  पनि आर्य कुलकै हुन् । त्यसैलै एउटै जाती हो । केही फरक छैन ।
राज्यकाे एक लाख लिइन
दलित विवाह गर्नेलाई राज्यले एक लाख रुपैयाँ दिन्छ । मैले लिइनँ । किनकी मैले पैसाका लागि विवाह गरेको होइन । पैसा लिनु ठीक होइन जस्तो लाग्यो । जातीय छुवाछुत पैसामा आकर्षण गरेर हटाउने होइन । चेतनाको विकास गराउनुपर्छ ।
संसार बुझेर हुँदैन, बदल्नुपर्छ
संसारलाई बुझ्नेहरु धेरै छन्  । समाजमा जातीय भेदभाव हुनु हुँदैन भन्ने थाहा छ । तर लागू गर्ने हिम्मत मानिसहरुसँग हुँदैन । मैले समाज आफूबाटै बदल्न थाल्नुपर्छ भनेर बुझेको कुरा व्यवहारमा लागू गरेको हुँ । मानिसले मानिसलाई जात वा वर्णका आधारमा विभेद गर्नु मावताविरोधी काम हो । अब बन्ने संविधानमा त्यसलाई मानवताविरुद्धको अपराधका रुपमा उल्लेख गर्नुपर्छ । नभए मुखले भन्दैमा छुवाछुत अन्त्य हुँदैन ।
 
माओवादी झुक्दा हामीलाई सास्ती
माओवादी सत्तामा गएपछि दलितसम्बन्धी, भूमिसम्बन्धी र सुकुम्बासीसम्बन्धी समस्यामा काँग्रेस एमलेसँग सम्झौता गर्यो । जनयुद्ध उठान गर्दा जुन एजेण्डा उठान गरियो । बैठान गर्दा त्यसको व्यवस्थापन गरिएन । हामीले अन्तर जातीय विवाह गर्नु हाम्रो व्यक्तिगत समस्या होइन । पार्टीले नै पहल गर्नुपर्ने हो । पार्टीका साथीहरुबाट नराम्रो व्यवहार भएको त छैन । तर नीतिगत रुपमा यस्ता समस्या समाधान गर्न पार्टीले पहल गरेन । यस्तो समस्या देशैभरि छ । त्यतिबेला धेरैले दलित विवाह गरेका थिए । अन्तरजातीय बिहे गर्ने केही सम्पर्कमा रहेका साथीहरुसँग कुरा हुन्छ । हामी जे भोगिरहेका छौं, ठीक उनीहरु पनि त्यही भोगिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us