मोदीको अभिव्यक्ति ‘आदेश कि सुझाव’ भन्नेमा काँग्रेस–एमाले विभाजित

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १३:२१ मा प्रकाशित

nc-uml flagकाठमाण्डु, १३ मंसिर– सत्तारुढ काँग्रेस–एमाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर विभाजित भएका छन् ।
एमालेले मोदीको अभिव्यक्तिलाई ‘आनतरिक मामलामाथिको हस्तक्षेप’ भनेको छ भने काँग्रेसले छिमेकीको सुझावलाई हस्तक्षेप भन्न नहुने बताएको छ ।
१८ औं सार्क सम्मेलनमा सहभागी हुन आएका बेला भारतीय लगानीमा वीर अस्पताल हातामा निर्मित ट्रमा सेन्टर हस्तान्तरण कार्यक्रममा उनले संख्याको बलमा संविधान बनाउने गल्ती नगर्न दलहरुलाई सुझाव दिएका थिए ।

संवाद डबलीले शनिबार राजधानीमा गरेको कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले मोदीले कुटनीतिक सीमा बाहिर गएर निर्देशनात्मक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।

ज्ञवालीले संविधान बहुमतीय वा सहमतिय प्रक्रियाबाट ल्याउने भन्ने विषय नेपालका दलहरुको निर्णयमा भर पर्ने बताए ।

छिमेकको आन्तरिक मामलामा हस्तक्षेप गर्न छाडेर आफ्नै देशका समस्या समाधानमा ध्यान केन्द्रित गर्न उनको मोदीलाई सुझाव थियो ।

‘मोदीजीले कुटनीतिक मर्यादा बिर्सेर जे बोल्नुभयो त्यसलाई कदापी स्वीकार गर्न सकिँदैन’, ज्ञवालीले भने, ‘संविधान हामीले बनाउने हो, कसैको आदेश मान्न जरुरी छैन ।’
कांग्रेस नेता अर्जुननरसिंह केसीले भने छिमेकी मुलुकको प्रधानमन्त्रीका हैसियतमा मोदीले दिएको सुझावलाई नकारात्मक रुपमा लिन नहुने बताए ।

‘सहमतिमा अघि बढ’ भन्ने मोदीको अभिव्यक्तिलाई निर्देशन वा आदेश नभई झावका रुपमा ग्रहण गरिनुपर्ने उल्लेख गरे । उनले ८ माघमा कुनै हालतमा संविधान नआउने प्रष्ट्याए ।

दलहरुले माघ ८ मा संविधान आउँछ भनेर जनता ढाँट्न छाड्नुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us