काठमाण्डु १३ मंसिर–एमाओवादीले आफूबाट अलग्गिएर बनेको नेकपा–माओवादी विभाजन हुँदै बिसर्जनको बाटोतर्फ गएको बताएको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता दीनानाथ शर्माले वैद्य माओवादी बिसर्जनको संघारमा पुगेको बताए ।
माओवादीधारका सबै क्रान्तिकारी कम्युनिष्ट शक्ति एक हुनुपर्नेमा नेकपा–माओवादीमा आएको फुट दु:खद् भन्दै उनले यसको परिणाम विघटन हुने दाबी गरे ।
‘सबै मिल्नुपर्ने बेलामा उहाँहरुमा आएको फुटले हामीलाई दु:ख लागेको छ’, शर्माले भने, ‘फुटपछि उहाँहरु बिसर्जन र विघटनको बाटोमा जानुभएको छ ।’
अर्को एक फरक प्रसंगमा उनले संघीयताको मुद्दा थाती राखेरै भए पनि ८ माघमा संविधान जारी गर्नुपर्ने सत्ता पक्षको प्रस्ताव अस्वीकार्य रहेको बताए ।
संघीयताबिनाको संविधान कुनै हालतमा स्वीकार गर्न नसकिने उनको भनाइ थियो । काँग्रेस–एमाले २०४७ सालको संविधान ब्युताउँने खेलमा लागेको आरोप लगाए ।