मोदी अभिव्यक्तिको प्रभावः प्रचण्डलाई बालुवाटार बोलाएर सुशीलले भने, ‘सहमतिमै संविधान’

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १०:३४ मा प्रकाशित

modi-sushilकाठमाण्डु, १३ मंसिर– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधान निर्माण प्रक्रिया र हालै सम्पन्न सार्क सम्मेलनका निर्णयका बारेमा कुराकानी भएको थियो ।

भेटमा कोइरालाले आफू सहमतिमै संविधान लेदिनुपर्ने पक्षमा रहेको बताएका थिए । उनले माघ ८ मा संविधान जारी गर्ने गरी सहमतिको वातावरण निर्माणमा जुट्न पनि प्रचण्डलाई आग्रह गरेका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सहमतिमै संविधान निर्माणका लागि अधिकतम प्रयन्त गरिने बताए ।

‘हामीले सहमतिमै माघ ८ मा संविधान जारी गर्न प्रयत्न गर्ने हो’, कोइरालाले भने, ‘प्रचण्डजीसँग कसरी सहमति गर्ने भन्नेबारेमा कुरा भयो ।’
यसअघि कोइराला दलहरुबीच सहमति नभए प्रक्रियाबाटै अघि बढनुपर्ने पक्षमा थिए ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा रहेका काँग्रेस–एमालेका ४३ सभासदले आफूहरुले अघि सारेको ९ बुँदे साझा प्रस्ताव अघि बढाउन दबाब दिँदै सभापति बाबुुराम भट्टराईलाई हस्ताक्षर बुझाएका थिए ।

त्यसरी हस्ताक्षर गर्ने ४३ मध्येका एक प्रधानमन्त्री कोइाराला पनि हुन् ।
सार्क सम्मेलनमा सहभागी हुन काठमाण्डु आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीर अस्पताल हातामा निर्मित ट्रमा सेन्टर उदघाटन कार्यक्रममा संख्याको बलमा संविधान बनाए राम्रो नहुने भन्दै सहमतिमै अघि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ समेत सहभागी थिए ।

मोदीको अभिव्यक्तिपछि काँग्रेस–एमाले नेताले प्रक्रियाबाट संविधान बनाउने कुरा गर्न छाडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us