आफन्तले नै बेच्छन् चेलीबेटी

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ९:४० मा प्रकाशित

नुवाकोट, १३ मंसिर– नुवाकोट जिल्लाबाट हुँदै आएको महिला बिक्रीका घटनामा आफन्तहरुकै संलग्नता रहने गरेको पाइएको छ ।
महिला बिक्रीमा तामाङ समुदाय र दलित समुदायका महिला प्रायः पर्दै आएका छन् ।

महिला बिक्रीमा ८० प्रतिशत घरपरिवार र आफन्तको संलग्नता रहने गरेको महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था कोसेली नेपालले जनाएको छ ।

आफन्तकै संलग्नतामा बिक्री हुने गरेको र भारतमा आफ्नै कोठी रहने भएकाले पनि अपराधीहरु कानुनी दायरामा ल्याउन नसकिएको कोसेली नेपालका अध्यक्ष अस्मिता थापाले बताइन् ।

महिला बिक्री भएको जानकारी रहँदा पनि पीडित पक्षले कानुनी कारबाहीका लागि उदासीनता देखाएका कारणले समस्या भएको थापा बताउँछिन् ।

जिल्लाको उत्तरपूर्वी भेगका घ्याङ्फेदी, उर्लेनी, बेतिनी, बालकुमारी, गाउँखर्क, शिखरबेँसी, रालुकादेवी गाउँ विकास समितिका महिला बढी बिक्री हुँदै आएका छन् ।

पहिलेजस्तो सिधै बिक्रीका लागि सडक मार्गबाट भारत नलगी विभिन्न रोजगारीका नाममा महिला बिक्रीका घटना बढेको छ ।

वैदेशिक रोजगारीका लागि राहदानी बनाएर हवाईमार्ग मार्फत भारत लगेर महिलाको बिक्री हुन थालेको छ ।

अहिलेसम्म कम्तीमा ५० हजारभन्दा बढी महिला यौन बजारमा बिक्री भएको अनौपचारिक तथ्याङ्क रहेको छ ।

सरकारले महिला बिक्री रोकथामका लागि प्रभावकारी रुपमा रोजगारमूलक कार्यक्रम र योजना लागू नगर्दा बिक्रीमा कमी आएको छैन ।

बसुदा खातीबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us