चितवन, १३ मंसिर– नेपाल पत्रकार महासंघले चितवनका पत्रकार नारायण अधिकारीमाथि भएको आक्रमण गम्भीर प्रकृतिको अपराध भएको ठहर गरेको छ ।
वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारी नेतृत्वको मिसन टोलीले घटनाको अध्ययनपछि उक्त निष्कर्ष निकालेको हो ।
स्थानीय प्रशासन र सुरक्षा निकायसँगको छलफलपछि घटना लरतरो आपराधिक गतिविधि नभई गम्भीर भएको टोलीले जनाएको छ ।
टोली संयोजक भण्डारीले घटनाको भत्र्सना गर्दै आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरे ।
महासंघ अध्यक्ष महेन्द्र विष्टले गृहमन्त्री बामदेव गौतमलाई भेटेर घटना छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिसकेको जानकारी उनले दिए ।
घटनामा भाडाका अपराधी प्रयोग गरेर आक्रमण भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै उनले उक्त घटना पत्रकार जगत्कै लागि थप चुनौती भएको उल्लेख गरे ।
टोली सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य किशोर श्रेष्ठले घटना सुनियोजित रुपमा गरिएकाले गम्भीर अनुसन्धान हुनुपर्ने बताए ।
पत्रकार अधिकारीमाथि मङ्सिर ४ गते कार्यालयबाट घर फर्कंदै गर्दा भरतपुरमा आक्रमण भएको थियो ।