विप्लवले सम्बन्ध विच्छेद गरेपछि प्रचण्डसँग मिल्ने वैद्यको तयारी

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ९:०० मा प्रकाशित

prachanda-baidhyaकाठमाण्डु, १३ मंसिर– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एकीकृत माओवादीसँग पार्टी एकता प्रक्रिया नजिक पुगेको बताएका छन् ।
उनले एकताका लागि आफूहरुले बुझाएको ६ बुँदे प्रस्तावका ५ बुँदामा एमाओवादी सहमत भइसकेको र बाँकी एक बुँदामा सहमति भएपछि पार्टी एकता हुने बताए ।
‘हामीले एकताका लागि ६ बुँदे प्रस्ताव पेश गरेका थियौं’, पार्टी मुख्यालय बुद्धनगरमा शनिबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘एउटा बुँदामा सहमति भएपछि पार्टी एकता हुन्छ ।’

वैद्यले एकताका लागि दुई पार्टीको शीर्ष तहमा सकारात्मक कुराकानी भइरहेको जनाए ।
सचिव नेक्रविक्रम चन्द पक्षले सम्बन्ध विच्छेदको पत्र बुझाएर पार्टी छाडेलगत्तै वैद्यले दुई माओवादी मिल्न लागेको बताएका हुन् ।
गत ६ असोजमा वैद्यको पत्रको जवाफ लेख्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  अधिकांश बुँदामा आफूहरु सैद्धान्तिक रुपमा सहमत रहेको स्पष्ट गरेका थिए ।

दोश्रो बुँदामा उल्लेख ‘नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्नुपर्ने’ वैद्यको प्रस्तावमा भने कुरा मिलेको छैन ।

त्यसको सट्टा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिका लागि अगाडि बढ्ने हेटौंडा महाधिवेशनको लाइन सही रहेको दाबी एमाओवादीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us