
बागलुङ, १३ मंसिर– मुलुकको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलो मौसममा सिकारीहरुले १३ नाउर र सात झारलको सिकार गरेका छन् ।
सिकारको पहिलो मौसममा छ देशका सिकारीहरु अनुमति लिएर सिकार आरक्षमा पुगेका थिए । आरक्षका विभिन्न ब्लकमा अमेरिका, रुस, जर्मन, साउथ अफ्रिका, ल्याटभिया र नर्वेका सिकारीले सिकार गरेकोे आरक्षका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार यो याममा १४ नाउर र आठ झारल सिकारका लागि वन्यजन्तु विभागले अनुमति दिए पनि जर्मनका एक सिकारी आरक्षमा नपुगेपछि मात्रा घटेको हो ।
सिकारीहरुले आरक्षमा नाउर र झारलमात्र सिकार गर्न पाउने उहाँले बताउनुभयो । सिकारका लागि विदेशी नागरिक नेपाली एजेन्सीको सम्पर्कमा आउने गरेको बताइएको छ ।
सिकारीहरुले झारल सिकार गरेबापत रु चार लाखदेखि न्यूनतम रु दुई लाख ७७ हजार र नाउर सिकारका लागि रु तीन लाख २५ हजारदेखि न्यूनतम रु दुई लाख ७१ हजारसम्म राजस्व सरकारलाई तिरेको श्रेष्ठले बताए ।
सिकार एजेन्सीहरुको प्रतिस्पर्धाका कारण आरक्षको राजस्वमा समेत वृद्धि भएको छ । आरक्षले वार्षिक रु एक करोडसम्म राजस्व सङ्कलन गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
सिकारका लागि दोस्रो सिजन फागुन तेस्रो हप्तादेखि वैशाख दोस्रो हप्तासम्मका लागि तय गरिएको ढोरपाटन सिकार आरक्षको कार्यालयले जनाएको छ । रासस