पाँच शिक्षकको भरमा निमावि

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ३:५६ मा प्रकाशित

बागलुङ, १३ मंसिर–  बागलुङको तमान–८ को सरस्वती निमावि पाँच जना शिक्षकको भरमा चलेको छ । यसअघि सात शिक्षक रहेकामा दुई जनाले अवकाश लिएपछि पाँच जनाले विद्यालय चलाउनु परेका कारण पठनपाठनसमेत प्रभावित भएको छ ।

प्राथमिक तहका पाँच जना शिक्षकको दरबन्दी रहे पनि निमावि भने निजी स्रोतबाट चलेको विद्यालयले जनाएको छ । दरबन्दीका शिक्षक ज्ञानेन्द्र छन्त्यालले गत असोजबाट अवकाश लिएको र अर्का एक निजी स्रोतमा रहेका शिक्षकलाई विद्यालयले हटाएपछि शिक्षक संख्या अपुग भएको हो ।

दुई सय ५० विद्यार्थीले अध्ययन गर्ने उक्त विद्यालयमा शिक्षक कम हुँदा समस्या भएको प्रधानाध्यापक कुमबहादुर छन्त्यालले बताए ।

‘शिक्षक थोरै हुँदा समस्या भएको छ, एउटै शिक्षकले दोब्बर कक्षा लिनुपर्ने अवस्था छ’, उनले भने, ‘निमावि तहका एउटा पनि दरबन्दी नहुँदा निजी स्रोतबाट तलब खुवाउन पनि धौ–धौ छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us