कैलाली, १३ मंसिर– भीमदत्त राजमार्गअन्तर्गत कैलालीको सहजपुर–२ स्थित धातुभीरमा यात्रुबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अरु २५ जना घाइते छन् ।
डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५४ २० नम्बरको बस राति १ बजेतिर सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र तीन बालबालिका छन् ।
मृतकमध्ये डोटी दौड–१ की ३० वर्षीया तिपरी नागरी, दौड–२ की ५० वर्षीया बिस्ना भण्डारी, डोटीकै गोबुढा–४ का ३२ वर्षीय प्रेम विक, दौड–१ का ४० वर्षीय रिनुवा नागरी र उनकी श्रीमती ३० वर्षीया तुलसी, वर्ष ३५ का बिरे लुहार र दौड–४ का अन्दाजी ३५ वर्षीय टेकबहादुर बोगटीको सनाखत भएको छ ।
मृतकको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।
आठ जनाको घटनास्थलमै र तीनजनाको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रमुख एसपी विक्रम सिंहले जानकारी दिए ।
घाइतेमध्ये नौ जनाको पद्मा अस्पताल र १३ जनाको सेवा नर्सिङ होम अत्तरियामा उपचार भइरहेको छ ।
गम्भीर घाइते सातजनालाई थप उपचारका लागि भारतको हल्व्दानीतर्फ पठाइएको छ । बसमा ४० यात्रु सवार रहेको प्रहरीले बताएको छ ।
रातको समयमा दुर्घटना भएकाले उद्दारमा कठिनाइ भएको थियो । दुर्घटनास्थलमा उद्दारका लागि कैलाली, कञ्चपुर र डोटीबाट ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।
केही यात्रु बसमा अझै किचिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । टायर पञ्चार भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।