नेपालमा हात मिलेपछि पाकिस्तानमा ३६ बन्दी छुटे

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ११:०३ मा प्रकाशित

इस्लामावाद, १२ मंसिर– पाकिस्तानले ३६ जना भारतीय बन्दी रिहा गरेको छ । पाकिस्तानले भारतका केही माछा मार्ने पेसा अंगाल्ने माझी र नागरिक बन्दीलाई रिहा गरिदिएको जनाइएको छ ।

sharif-new

१८ औं सार्क सम्मेलनमा काठमाण्डुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच हात मिलाएकै दोस्रो दिन पाकिस्तानले भारतीय बन्दीलाई रिहा गरेको हो ।

हालैका दिनमा भारत र पाकिस्तानको सीमा क्षेत्रमा तनाव बढिरहेको थियो । पाकिस्तानले गरेको यस रिहाइलाई दुई देशबीचको सम्बन्ध सुधारमा केही सहजता थपिएको समाचारहरुमा जनाइएको छ ।

काठमाण्डुमा बिहीबार सम्पन्न सार्कको १८ औं शिखर सम्मेलनमा हात मिलाए पनि दुई देशका प्रधानमन्त्रीबीच कुनै औपचारिक वार्ता भएन ।

निकै लामो समयदेखि आपसी सम्बन्धमा सुधारको प्रतीक्षा गरिएको बेला यी दुई देशका प्रधानमन्त्रीले हात समापन समारोहमा हात भने मिलाएका थिए ।
उनीहरुले हात मिलाएको क्षण दक्षिण एसियाका सञ्चारमाध्यमका लागि ठूलो समाचार बनेको थियो । सोही समाचारको भोलिपल्ट पाकिस्तानले गरेको बन्दी रिहाईको समाचारलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

भारत र पाकिस्तानले विभिन्न समयमा दुवै तर्फका माझीहरु पक्राउ गर्ने गर्छन् । कतिपय ती माझीहरुलाई समुद्रमा आफ्नो तर्फको सीमाना पनि थाहा हुदैन । जसले गर्दा उनीहरु पक्राउ पर्ने गर्छन् ।

पाकिस्तान सरकारले कराँची सहरमा रहेका माझी र अर्का एकजना नागरिकलाई पनि आज रिहा गरेको हो । सो समाचारलाई दुई देशको सम्बन्धसँग जोडेर प्रचार गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us