मोदीको भनाइ आन्तरिक मामलामा खुला हस्तक्षेपै हो : श्रेष्ठ

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ९:३७ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सहमतिमै संविधान जारी गर्नुस्’ भन्नु आन्तरिक मामिलामा हस्तक्षेप नै भएको दोहोर्याएका छन् । शुक्रबार काठमाण्डु टुडेसँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले सार्कको सन्दर्भमा नेपाल आएका बेलामा यहाँको आन्तरिक राजनीतिबारे बोल्नु गलत भएको टिप्पणी गरे ।

NARAYAN KAJI
१८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकै दिन मंसिर १० गते मोदीले नेपालका दलहरुलाई सहमतिमा र समयमै संविधान निर्माण गर्न सुझाव दिएका थिए । मोदीको यो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल समेत रहेको एकीकृत माओवादीभित्र भिन्नभिन्न धारणा सार्वजनिक भएका थिए ।
‘हाम्रो पार्टीभित्रका केही साथीहरुले मोदीको अभिव्यक्तिलाई सुझाव वा सदिच्छा मात्रै भन्नुभएको सुनें, हस्तक्षेप भनेको आफनो तत्कालीन राजनीति अनुकूल भए पनि त्यो हस्तक्षेप नै हो,’ पूर्व परराष्ट्र मन्त्री समेत रहेका श्रेष्ठले भने, ‘हामीले नेपालमा कस्तो संविधान बनाउने वा कसरी संविधान बनाउने भन्ने हाम्रो आन्तरिक मामिला हो । यसमा मोदीले सुझाव वा निर्देशन जरुरी छैन ।’
उनले मोदीको भनाइबाट उत्साहित छौं भन्ने आफ्नै पार्टीका नेताहरुप्रति पनि आफ्नो असहमति रहेको बताए ।
आफ्नै निवास हरिसिद्धिमा काठमाण्डु टुडेसँग लामो कुराकानी गर्दै श्रेष्ठले माघ ८ गते कुनै हालतमा पनि संविधान नआउने ठोकुवा समेत गरे । सत्तारुढ दलहरु सरकार परिवर्तनको खेलमा रहेकाले माघ ८ मै संविधान आउने कुनै सम्भावनै नरहेको उनको दाबी छ ।
श्रेष्ठले माघ ८ मा संविधान आउँछ भनेर नेताहरुले ढाँटिरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us