नेपालमा लगानी गर्न सार्क–उद्यमीलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ९:११ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले सार्कका उद्यमीहरुलाई नेपालमा लगानीको निम्ति आग्रह गरेका छन् ।

sushil
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सार्क चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा लगानी अनुकूल वातावरण बनेको भन्दै निर्धक्क भएर लगानी गर्न अनुरोध गरेका हुन् ।
नेपालले हालै भारतसँग गरेको  विद्युत् व्यापार सम्झौता तथा माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका  आयोजना विकास सम्झौतालाई सङ्केत गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘हामीले भर्खर सुरुआत गरेका छौँ ।’
उनले नेपाल विकास प्रक्रियाको थालनीमा रहेको बताउँदै नेपालले विकासको मुखै देख्न नपाएको र छ दशकभन्दा बढी समय खाली प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि सङ्घर्ष गर्दागर्दै बितेको टिप्पणी समेत गरे ।
उनले अब  जलस्रोत, कृषि, पर्यटन र जडीबुटी उत्पादन र प्रशोधनका क्षेत्रमा लगानी बृद्धि हुने विश्वास व्यक्त गरे ।

भेटघाटमा सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष सुरज वैद्य, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे, सार्क चेम्बरका ज्ञानेन्द्रलाल प्रधान, युवा उद्यमी सौरभ ज्योति, शङ्कर पाण्डे, प्रवीना पाण्डे, समीर थापालगायत सार्क च्याम्बरमा आबद्ध बङ्गलादेश, भुटान र पाकिस्तान च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा सार्क क्षेत्रका उद्यमीहरुले प्रधानमन्त्री कोइराला सार्कको अध्यक्ष भएको र सार्कको १८औँ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्री कोइरालालाई बधाइ दिएका थिए ।
उनीहरुले सार्क क्षेत्रमा ऊर्जा सहयोगका सम्बन्धमा भएको सम्झौताको स्वागत गर्दै यसले आर्थिक विकासलाई सघाउने धारणा राखेका थिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us